-भक्तराज रसाइली
धरान । साइकल टुरिजम र ग्रीन सीटीका अभियन्ता कृष्ण केसी धरानमा परिचित नामका रूपमा चिनिन्छ्न । विश्व साईकल यात्री पुष्कर साहबाट प्रभावित केसी पश्चिम बुटवलबाट धरानलाई कर्मथलो बनाउँदै एक साइक्लिष्ट, हरित नगरी अभियन्ता र माउण्टेन साइकल व्यवसायीका रूपमा आफूलाई स्थापित गर्न उद्दत एक कर्मशील युवा उद्यमी हुन् ।

उनले २०७१ सालमा खोलेको धरान १० स्थित टस्क माउन्टेन बाईक सैनिकचोकमा रहेको छ । साइकल व्यवसायी केसी आफूले प्रशस्तै नाम र दाम कमाएको र धरानलाई साइकल टुरिजममार्फत आन्तरिक पर्यटनको सहायताले समृद्ध सहर र हरित नगर बनाउन हरपल लागिपरेको उनको भनाइ छ । 

३६ वर्षीय केसीको जन्म बाग्लुङ भएतापनि उनको परिवार उनी १ वर्ष हुँदा बुटवल झरेको उनले बताए । उनले औपचारिक शिक्षा १२ कक्षा मात्र हासिल गरेको भए पनि उनले जीवनमा पढेर हैन, गरेर धेरै शिक्षा हासिल गरेको उनको जीवनकथाले बोलेको भान हुन्छ । 

आफूलाई साइक्लिष्ट भन्न रुचाउने केसी साइकलमैत्री सहर अभियानमा दत्तचित्त भर्इ लागेको उनको प्रयास र मिहिनेतले बोल्दछ । उनले आयोजना गरेका विभिन्न साइकल टूर प्याकेज , प्रतियोगिता लगायतका गतिविधिले उनी लाग्छ धरानकै रैथाने हुन्  र न यति धेरै माया गरेका हुन् । 

दस जोड दुई पढ्दापढ्दै उनले मासिक १७ सय तलब बुझ्ने गरेर हार्ड्वेयरमा सेल्समेनका रुपमा काम गरेको उनले बिजशालालाई बताए । ५८ सालबाट ६३ सालसम्म त्यहीँ काम गरेर ३ हजारसम्म महिनाको कमाई गर्दागर्दै उनमा विदेश जाने भूत सवार भएको उनले विगत कोट्याए । 

यसै सिलसिलामा उनी हान्निए सपनाको सहर राजधानी काठमाण्डौ । कुरो ६४ सालतिरको हो, एउटा म्यानपावरमा अन्तर्वार्ता दिने क्रममा एक नेपालीले हेपाही प्रबृत्ति देखाएको र रिजेक्ट गरेकामा केसीले गल्फ कन्ट्री नजाने र आफ्नै स्वदेशमा , आफ्नै माटोमा केही गर्ने हिम्मतका साथ आफैंसँग प्रतिज्ञा गरेको उनले गर्वित हुँदै भने ।

जिन्दगीको राजमार्गमा साइक्लिष्ट केसीले ईएमआई हर्बल कम्पनीमा मार्केटिङ गर्ने अवसर पाए । उनले त्यस कम्पनी अन्तरगत ३ वर्षको अनुभव लिँदै पूर्वपश्चिम डुल्ने मौका , आत्मनिर्भर हुने उपाय आर्जन गरेको उनको विगतको अनुभव साटे ।

यसपछि ईटहरी कार्यालय रहेको एक बीएसपी बायोग्यास प्लान्ट अन्तरगत वैकल्पिक उर्जामा मेडिएटरका रूपमा १ वर्ष काम गर्दागर्दै कामको सिलसिलामा धरानसँग जोडिएको उनी बताउँछन् । धरानमा साथीसँग मिलेर हर्बल प्रोडक्टको डिपो खोल्न भ्याएका उनले त्यसबाट पनि उनले सन्तुष्ट नभएर विकल्प खोज्ने क्रम केसीमा जारी थियो । 

६८ सालतिर पोखरा घुम्न गएका बेला केसीले त्यहाँ घरहरू ढुङ्गाले छाएको देखे । त्यहीँबाट सिकेर उनले धरानमा ठेक्का लिने काम सुरु गरे । सुरुताका घर बन्दै गरेको ठाउँमा १५ वटा घरसम्म पोख्रेली ढुङ्गाको मार्केटिङ गरेको दुखदायी र संघर्षशील जीवनको पाटो खुलासा गरे । यो व्यवसायमा पनि दक्ष कर्मचारीको अभाव भएकै कारण उनले यो पेशालाई पनि तीलाञ्जली दिए । 

भनिन्छ यात्रा र घुमफिरले नै मानिसको सोच र नवप्रवर्तन जन्मिन्छ । सोही मुताबिक पोखरा जाँदा साइक्लिङ्ग देखेको र केसी स्वयम् पनि २ कक्षामा पढ्दापढ्दै साइकल कुदाएको आनन्द र यसैलाई पेशा व्यवसाय बनाउन पाए भन्ने अभिलाषाले उनमा साइकल व्यवसायीका रूपमा अघि बढ्न हौसला मिलेको बताए । उनको माउन्टेन बाइकिङ्ग गर्ने धोको पनि थियो । 

धरान १० मै खोलिएको राईडर्स एण्ड एमटीबी जोनसँग उनको निकटतम सम्बन्ध गाँसिएको र ५२ हजारमा जाईण्ट रेबल जिरो माउन्टेन बाइक १ हजार डाउनपेमेन्टमा किस्तामा किनेको उनी झल्झली सम्झन्छन् । धेरै लामा ट्रेल, राष्ट्रिय अन्तर्राष्ट्रिय साइकल ट्रेलमार्फत एक प्रोफेसनल साइक्लिष्टका रुपमा आफूलाई खरो प्रस्तूती जनाइसकेको उनको दाबी समेत छ । उनले निकै भावुक हुँदै भने, अभावले सिर्जना हुन्छ रे । सोही अभावमा लड्दै आज म यहाँसम्म आइपुगेको हुँ ।

साइक्लिङ्गकै दौरान भेटिएका बीपी हस्पिटलमा कार्यरत डा. समीर चौधरीले साइकल स्टोर खोल्न आफूलाई ३ लाख सापटी दिएको जीवनमा नबिर्सने गुण लगाएको केसीले भावुक हुँदै भने । डिपो माविका शिक्षक दीपक राईले पनि जीवनको एक खण्डमा उत्प्रेरित गरेर मात्र आज यो स्थान आफूले लिएको केसीले खुलासा गरे । 

७० साल जेठमा उनले झम्सिखेल काठमाडौमा रहेको ईपिक माउन्टेन बाइकका रुपेश श्रेष्ठले गरेको सहयोग र १.५ महिना त्यहीँ रहदा साइकल चलाउन, ट्रेल राईड, पार्ट्स सेल्स, ग्रूप मोटिभेट लगायत धेरै शिक्षा र ज्ञानका साथ धरान पुनः आइपुगे । 

९ दिने पहाडी जिल्लाको साइकल ट्रेलमा जाने क्रममै संखुवासभाको गुफापोखरी भन्ने ठाउँमा पानीमा रुझ्दारुझ्दै टस्क नाम जुराएको र पछि हालको टस्क माउन्टेन बाइकको स्थापना भएको उनको भनाइ छ । उनको आईडल पुष्कर साहबाट २०७१ साल माघ २५ गते उद्घाटन गर्दा उनी खुशीले गदगद भएका थिए । 

सुरुमा ३ वटा साइकल र आफ्नै साइकल राखेर व्यवसाय सुरु गरेका उनलाई साइकल सप्लायर्सबाट पनि धेरै साथसहयोग र विश्वास आर्जेको उनको दाबी छ ।

उनको स्टोरले ब्राण्डेड ट्रेक र जाईण्ट कम्पनीका माउन्टेन बाईक स्कुले बच्चादेखि प्रौढ उमेर सम्मका लागि ८ हजारदेखि ३.५ लाख मूल्यका विभिन्न विशेषताका साइकल बिक्री गर्ने गरेको र महिनाको औसत ५० हजारसम्म नाफा कमाएर खुशीसाथ आफ्ना परिवारसङ्ग बिताउने गरेको उनले बताए । यसको साथै  टूर प्याकेज पनि गर्ने उनले हार्ड ट्रेल बाइकको प्रतिदिन ७  सय र डब्बल सस्पेन्सन बाइकको प्रतिदिन १५ सय शुल्क लिई भाडामा साइकल पनि लगाउने गरेको उनको भनाइ छ । यस हिसाबले साइकल बिक्री र भाडाबाट आएको जोड्दा एक लाख हाराहारी कमाउने उनले मायावी रेस्टुरेन्ट पनि संचालन गरेको थप खुलासा गरे । 

साईक्लिङ्ग धरानका सचिब समेत रहेका केसी राष्ट्रिय दिवसहरुमा र्याली र क्याम्पेन पनि आयोजना गर्ने गरेको उनको अनुभव छ । 

शारीरिक तथा मानसिक स्वास्थ्यका हिसाबले, मितव्ययीता,  वातावरणमैत्री, जीवन सुरक्षा, पार्किङ सहजताका लागि हिजोआज विभिन्न तह र तप्काका व्यक्तिहरुको रोजाईको साधन साइकल बनिसकेको साइक्लिष्ट कृष्ण केसीको ठम्याइ छ । 

एउटा साइकल चलाए ८ वटा बिरुवा रोप्नु बराबर भएको उनको बुझाई छ ।

जिन्दगीमा दुःखका क्षणहरु आइरहने र त्यसलाई ट्याकल गर्दै अघि बढ्नुपर्ने उनको सिकाई छ । जिन्दगीको सबैभन्दा दुखको क्षण नेपालमा नाकाबन्दीका समयमा आफ्नो स्टक सक्किएर न्यूज हेर्दै नाकाबन्दी खुल्ला र सामान डेलिभरी गर्न पाउने आशामा बिताएका दिन लाग्ने गरेको केसीले भने, सुरुमा खोलिएको आफ्नो पार्ट्नर्सीपमा खोलिएको ग्रीनव्हील्सबाट उद्धाटनको ३ दिनपछि साइकल बिक्री हुँदा खुशीको क्षण भएको थियो । 

सरकारले साईकल लेन बनाउन ध्यान नदिएकोप्रति रुष्ट उनले साइकल विक्रेतालाई पनि एक सम्मानित र प्राथमिकताको क्षेत्र हुनुपर्ने उनले जोड दिए ।