– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सेयर बजारमा लगानीकर्ता क्लोजआउटमा मुख्य गरी दुई कारणले पर्ने गर्छन्। पहिलो ईडीआईएस नै नगरेर र दोस्रो समयमै ईडीआईएस गरे पनि भएको सेयरभन्दा बढी बेचेर। 

रोजगारीका सिलसिलामा दक्षिण कोरियामा रहेका दुर्गादत्त भट्ट एकैपटक २ लाख जरिवनामा परे। भट्टले समयमै ईडीआईएस गरे पनि आफूसँग भएको भन्दा बढी सेयर बेच्दा २ लाख क्लोजआउटमा परेका हुन्। 

भट्टसँग एउटा कम्पनीको ७ हजार ६०८ कित्ता सेयर थियो। उनले जुलाई ३ र ४ तारिखमा क्रमशः २ हजार र ३ हजार कित्ता सेयर बेचे। जुलाई ४ तारिखमा बेचेको सेयर ईडीआईएस गर्नुपूर्व नै उनले पुनः टीएमएसमा देखिएको ब्यालेन्सअनुसार ४ हजार ७०६ कित्ता सेयर बेचे। 

तर, भट्टले आफूसँग भएको सेयरभन्दा २ हजार कित्ता बढी सेयर बिक्री गरे। जुन अहिले बजारमूल्य अनुसार २० प्रतिशत क्लोजआउटको जरिवाना २ लाख रुपैयाँबराबर हुन जान्छ। 

भट्टले आफूले पसिना बगाएर पैसाबाट किनेको सेयरमा दोहोरो क्षति भएको भन्दै गुनासो पोखे। ‘पहिलो कुरा मैले घाटामा सेयर बेचेको छु’, बिजशालासँगको कुराकानीमा उनले भने, ‘दोस्रो भनेको वाइको कम्पनीको सिस्टम इररका कारण मैले जरिवाना तिर्नुपरेको छ। यो वाइकोको सिस्टम इरर नै हो। यसको क्षतिपूर्ति नेप्से वा वाईकोले व्यहोर्नुपर्छ।’ 

‘म विदेशमा छु, सबै मलाई थाहा नहुन सक्छ तर मैले बढी बेच्न खोज्दा सिस्टमले रोक्नुपथ्र्यो। सिस्टमले धोका दिँदा म समस्यामा पर्ने भएँ’, उनले भने।

क्लोजआउटमा पर्ने भट्ट पछिल्लो उदाहरण पात्रमात्र हुन्। सिस्टममा रहेका त्रुटिका कारण कतिपय लगानीकर्ताहरु अनाहकमा क्लोजआउटमा पर्दै आएका छन्।

भट्टले कारोबार गर्ने ब्रोकर दीपशिखा धितोपत्र कम्पनीले पनि यो मानवीय र सिस्टम दुवैको त्रुटि भएको स्वीकार गर्छ। दीपशिखाका सञ्चालकले भने, ‘भट्टले कारोबार गर्दा अघिल्लो दिनको ईडीआईएस बेचेकै दिन गरेर दोस्रो कारोबार गरेको भए टीएमएसमा उनको ब्यालेन्स घट्ने थियो र यो गल्ती हुने थिएन। अथवा उनले आफूले बेचेको सेयरको लगत राखेको भए पनि यस्तो हुने थिएन।’

ब्रोकरहरुमा यस्ता समस्या कहिलेकाहीँ आउने ती सञ्चालकले बताए। 

वाइकोका सञ्चालक दीपेश मानन्धर यसमा वाइको कम्पनीको त्रुटि रहेको मान्न तयार छैनन्। ‘यसमा सीडीएससीले रियल टाइममा डीपी लिंक नगेरेका कारण यस्तो समस्या आएको हो। हाम्रोतर्फबाट कुनै समस्या छैन’, मानन्धरले भने, ‘हामीले भनिराखेका छौँ  कि लगानीकर्ताले कारोबार गर्दा मेरो सेयरको ब्यलेन्स हेरेर कारोबार गर्नुपर्छ।’ 

टीएमएसको ब्यालेन्समा सही नहुन नसक्ने पनि मानन्धरले बताए। ‘यसको जानकारी हामीले टीएमएसको वेबसाइटमा गरेका छौँ’, उनले भने।

स्टक ब्रोकर्स एसोसियसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीले क्लोजआउटको समस्या हल गर्न अक्सन मार्केट सञ्चालनमा ल्याउनुपर्ने बताए। ‘यदि क्लाइन्टले भूलवश क्लोजआउटमा परे पनि अक्सन मार्केटबाट सेयर किनेर दिने भएमा यो समस्या समधान हुने थियो’, उनले भने, ‘तर, हाम्रोमा यो व्यवस्था नहुँदा क्लोजआउट बढेको छ।’ 

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले सेयर बेचेपछि ईडीआईएस गर्ने दायित्व स्वयं बिक्रीकर्ताको भएको बताए।