काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा हाथवे इन्भेष्टमेण्ट कम्पनीलाई स्टक सिम्बोल 'HATHY' दिएको छ ।

तर ब्रोकर हाउसमा लगानीकर्ताहरुले यो कम्पनीलाई आजभोलि ‘हात्ती’ उपमा दिएका छन् । यो उपमाको पछाडि दुई वटा कारण रहेको लगानीकर्ताहरुको भनाइ छ ।

पहिलो भनेको लगानीकर्ताहरुले बजारमा बोलिचालीलाई सजिलो र सहज बनाउन यो नामकरण गरेका हुन सक्छन् भने दोस्रो भनेको दैनिक सेयरभाउ बढेर पनि यो कम्पनीको सेयरलाई हात्ती नामकरण गरिएको हुनसक्छ । यो कम्पनीको सेयर कारोबार दोस्रो बजारमा गत असोज २४ गतेदेखि भएको थियो ।

त्यसयता यो कम्पनीको सेयर भाउ अंकित मूल्य ५० रुपियाँबाट १३ गुणा बढिसकेको छ । साताको चौथो कारोबार दिन बुधवार दोस्रो बजारमा यो कम्पनीको सेयर भाउ अधिकतम ६५० रुपियाँसम्म करोबार भएको छ भने अन्त्यमा आएर ६२६ रुपियाँ कायम भएको छ । 

कम्पनीको वित्तीय अवस्था केलाउँदा यो कम्पनी निक्कै कमजोर छ ।कम्पनीको चुक्तापूँजी १ अर्ब १७ करोड रुपियाँ छ भने जगेडा कोषमा ७० करोड ७५ लाख रुपियाँ सञ्चित छ ।

जगेडा कोष त बलियो देखिएपनि कम्पनीको अन्य वित्तीय विवरण भने खासै सन्तोषजनक छैन । कम्पनीको प्रतिसेयर आम्दानी जम्मा २.७ रुपियाँ छ भने बुक भ्यालु ८०.२४ रुपियाँ मात्रै छ । कम्पनीको रिर्टन अन इक्विटी भने जम्मा ३.३७ प्रतिशत छ ।

ब्रोकरको होल्डिङ हेर्दा यो कम्पनीमा श्रीकृष्ण सेक्युरिटिज  ब्रोकर नम्बर २८ र एबीसी सेक्युरिटिज ब्रोकर नम्बर १७ बाट लामो समयदेखि उच्च कारोबार भइरहेको छ ।

ती ब्रोकरहाउसमा भेटिएका एक लगानीकर्ताले भन्छन्, ‘कुनै समय चन्द्रागिरी हिल्सको सेयरको भाउ २हजार ८०० रुपियाँसम्म पुगेको थियो । हाल यो कम्पनीको सेयर भाउ १ हजार ६० रुपियाँ  छ । यो कम्पनीका मूख्य लगानीकर्ता तिनै हुन् जसको हाथवे पनि लगानी छ । अब भन्नूस यहाँ चलखेल नभएर के हुन्छ ?’

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तोकेको आपेनिङ रेन्जभित्र यो कम्पनीको सेयर प्रि–सेसनमा प्रतिकित्ता  २८५.२० रुपैयाँमा कारोबार खुलेको थियो । नेप्सेले भने  कम्पनीको सेयरलाई न्युनतम ९५.०९ रुपैयाँदेखि अधिकतममा २८५.२७ रुपैयाँ ओपनिङ रेन्ज दिएको थियो । कम्पनीको दोस्रो बजारमा ५० रुपैयाँ अंकित मूल्यका कुल २ करोड ३४ लाख कित्ता सेयर सूचीकृत छ।

यसअघि कम्पनीले आईपीओबाट संकलन हुने १४ करोड ६२ लाख ५० हजार रुपैयाँमध्ये ६ करोड जलविद्युत उत्पादन, प्रसारण तथा वितरण गर्ने कम्पनीहरुमा लगानी गर्ने बताएको थियो ।

यस्तै ८ करोड ६२ लाख ५० हजार रुपैयाँ कम्पनीले आर्थिक पूर्वाधार, यातायात तथा सञ्चारसँग सम्बन्धित संगठित संस्थाको संस्थापक सेयरमा लगानी गर्ने बताएको थियो ।

कम्पनीको लगानीको प्रमुख हिस्सा भने सेयरमा  छ ।कम्पनीको लगानीमा विविधिकरणभन्दा पनि सेयरमा ठूला लगानी रहेकोले सेयर बजार बढ्दा कम्पनीबाट प्रतिफल आउने र सेयर बजार घट्दा कम्पनीका प्रतिफल पाउने सम्भावना पनि कमजोर देखिन्छ ।