– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपालको सेयर बजारमा सेयर किनेपछि सामाजिक सञ्जालहरुमा आफूले किनेको कम्पनीको प्रचारप्रसार गर्ने चलन छ। अहिले फेसबुक, भाइबर, क्लब हाउसजस्ता सामाजिक सञ्जालमा यस्तो गतिविधि हुँदै आएको छ। धेरैजसो लगानीकर्ता पनि हल्लाको पछि लागेर सेयर खरिदबिक्री गर्ने गरेको पाइन्छ।

‘क्लब हाउसमा भएको छलफल सुनेर एउटा कम्पनी किनेको थिएँ, अहिले लाखौँ घाटा छ’, एक लगानीकर्ताले भने, ‘घाटा खाएर सेयर बेच्ने कुरा आएन। त्यसैले अहिले म पनि उक्त कम्पनीको विज्ञापनमा लागेको छु।’

सेयर बजारका लगानीकर्ता सिर्जन पोखरेल लगानीकर्ताले लगानी गर्दा आफ्नो स्वविवेक प्रयोग गर्नुपर्ने बताउँछन्। ‘लगानीकर्ताले पनि लगानी गर्नुअघि अरुको कुरा सुन्नु हुँदैन। आफैँले कम्पनीको अध्ययन गरेर लगानी गर्नुपर्छ। आफ्नो पोर्टफोलियोमा भएको कम्पनी नराम्रो छ भनेर कसले प्रचारप्रसार गर्छ?’, उनले प्रश्न गर्दै भने।

‘आफ्नो पोर्टफोलियोमा हुँदा राम्रो भन्ने। बढी मूल्यमा बेचेपछि त्यही कम्पनी नराम्रो भन्ने लगानीकर्ता पनि छन्। त्यस्ता लगानीकर्तालाई नियामक निकायले कारबाही गर्नुपर्दैन?’ लगानीकर्ता मिलन चिमरियाले प्रश्न गर्दै भने, ‘आफूले किनेको कम्पनी राइट, बोनस दिने हल्ला फैलाएर बेच्ने चलन छ। त्यसैले लगानीकर्ता अरूको हल्लापछि लागेर लगानी गर्नु हुँदैन।’

अर्का लगानीकर्ता दुर्गा घिमिरे भन्छन्, ‘बजारका ठूलै लगानीकर्ताले अस्ति एउटा कम्पनीको राम्रै प्रचारप्रसार गरे। भोलिपल्ट कम्पनीको रिपोर्ट त्यति राम्रो आएन। कुरा बुझ्दा उनले रिपोर्ट आउने अघिल्लो दिन नै आफ्नो सेयर बेचेका रहेछन्। उनले आफ्नो टोपी अरू लगानीकर्तालाई लगाइदिए।’ त्यसैले बजारमा लगानी गर्दा ठूला लगानीकर्ताको हल्लाको पछि नलागी लगानी गर्नुपर्ने उनको सुझाव छ। 

नेपाल धितोपत्र बोर्ड (सेबोन) का सहप्रवक्ता रुपेश केसीका अनुसार सेबोनले लगानीकर्तालाई प्रभावित गर्ने कुनै पनि किसिमको कार्य नगर्न भनी विज्ञप्ति निकाल्दै आएको छ। केसी भन्छन्, ‘सेबोनले त्यस्तो गतिविधि बारे अनुसन्धान पनि गरी रहेको छ। कुनै पनि लगानीकर्तालाई प्रभावित गरेर सेयर किन बेच गरेमा धितोपत्र ऐन २०६३ को दफा ९६ अनुसार कारबाही हुन्छ।’ 

उक्त ऐनमा कुनै पनि लगानीकर्तालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा धितोपत्र किन्न वा बेच्न प्रभाव पार्नुका साथै कम्पनीको मूल्य घटाउने÷बढाउने कार्य गरेमा रु. ५० हजारदेखि रु. १ लाख ५० हजारसम्म जरिवाना हुन्छ। यसका साथै १ वर्षसम्म कैद पनि हुने उल्लेखित छ। त्यस्तो कारोबारले कसैलाई हानी–नोक्सानी गरेमा भर्पाइ पनि दिनुपर्ने हुन सक्छ।