काठमाण्डौ। प्रदेश नं. १ मा उच्च वृद्धिको सम्भावना भएका कृषिमा आधारित उद्यमलक्षित ५ महिने एक्सिलरेटर कार्यक्रममा सहभागी हुन आकांक्षी उद्यमीहरुका लागि आवेदन खुला गरिएको छ।

सरकारी तथा निजी क्षेत्रका वाणिज्य बैंक, प्रतिष्ठित उद्यमी र विभिन्न क्षेत्रका विज्ञद्वारा स्थापित वैकल्पिक कोष व्यवस्थापक आध्यन्त र स्विस कन्ट्याक्टअन्तर्गत सञ्चालित सहज–एनएएमडीपी (नेपाल कृषिबजार विकास कार्यक्रम) को साझेदारी एवं लगानी प्राधिकरण, प्रदेश नं. १ र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को सहकार्यमा हुन लागेको यस एक्सिलरेटर कार्यक्रमको मुख्य उद्देश्य प्रदेश १ बाट चुनिएका कृषि व्यवसायहरुको क्षमता बढाई उनीहरुलाई थप लगानीमा पहुँच पुर्याउन सहयोग गर्नु रहेको छ। प्रदेश १ कृषि, पर्यटन, व्यापार र उद्योगमा अग्रणी प्रदेश हो। यस प्रदेशमा उपलब्ध स्रोतहरुको समुचित उपयोग गरे समृद्ध प्रदेश बनाउन सक्ने ठूलो अवसर रहेको छ। तथापि, उचित व्यावसायिक परामर्शको अभावमा यो अवसरलाई ठोस परिणाममा बदल्न सकिएको छैन। 

यस सन्दर्भमा कार्यक्रमले कृषिमा आधारित उद्यमीहरुलाई आफ्नो व्यवसाय विस्तार गर्नका लागि आवश्यक स्रोत–सामग्री र व्यावसायिक परामर्श प्रदान गरी लगानीयोग्य बन्न मद्दत गर्नेछ। प्राप्त आवेदनहरुबाट १० वटा उद्यमीहरुलाई छनौट गरी १२ हप्तासम्म कृषि उद्यमीहरुलाई पूँजी, बजार पहुँच, र प्राविधिकलगायतका आन्तरिक चुनौति केन्द्रित परामर्श प्रदान गरिने छ। यो कार्यक्रमले सम्भावना बोकेका कृषि–उद्यमीहरुको विज्ञ तथा उद्योगी–समुदायसँग सम्पर्क विस्तार गर्ने उद्देश्यसमेत राख्दछ। यसले प्रदेशमा उपलब्ध स्रोतहरुको व्यावसायिक उपयोग गरी प्रदेशलाई समृद्ध र आत्मनिर्भर बन्न मद्दत पुग्ने अपेक्षा राखिएको छ।  

यसअघिका एक्सिलरेटर कार्यक्रमहरु संघीय राजधानीमा मात्र केन्द्रित हुने गरेको गुनासोबीच आध्यन्त एक्सिलरेटर कार्यक्रम काठमाण्डौबाहिर प्रदेश १ लाई केन्द्रित गरेर हुन लागिरहेको हो। यसबाहेक सार्वजनिक(निजी साझेदारीको मोडलमा एक्सिलरेटर कार्यक्रम सञ्चालन हुन गइरहेको हो। जसमा प्रदेश सरकारका तर्फबाट लगानी प्राधिकरण र निजी क्षेत्रको तर्फबाट छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सहकार्य हुनेछ।

यो कार्यक्रमको सफल कार्यान्वयनमार्फत उद्यमशीलता प्रवर्धनमा काम गरिरहेका विभिन्न सरोकारवालाहरुले एक आपसमा गर्ने अन्तरक्रिया र सहकार्यको तरिकामा परिवर्तन ल्याउने विश्वास गरिएको छ। यसका साथै यसले उद्यमीहरुलाई उनीहरुको व्यवसायिक पर्यावरणभन्दा बाहिरका सहयोग र स्रोत र सम्बन्धित क्षेत्रका विशेषज्ञ र सल्लाहकारहरुको बृहत सञ्जालसम्म पहुँचसमेत प्रदान गर्नेछ। 

आवेदनका लागि मिति २०७९ माघ ४ गतेदेखि माघ १८ गतेसम्म खुला गरिएको छ। आवेदन अनलाइनका साथै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ र तोकिएका स्थानबाट भर्न सकिनेछ। 

यसका साथै प्रदेश १ मा रहेका अथाह सम्भावना तथा अवसरका क्षेत्रमा विभिन्न लगानीका मोडल प्रयोग गरी लगानी प्रवर्द्धन गर्न लगानी प्राधिकरण, प्रदेश नं. १, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ र आध्यन्त फन्डम्यानेजमेन्टबीच औपचारिक समझदारी गर्ने प्रक्रिया पनि अगाडि बढेको छ।