– अनन्त्य सुन्दर
काठमाण्डौ । सेयर बजारलाई नियाल्ने हो भने अहिले विभिन्न पेसाका नागरिकले लगानी गर्दै आएको देखिन्छ। विद्यार्थी, बैंकर, शिक्षक र व्यवसायीे लगानी गरेको त हामीले सुन्दै आएको छौँ। तर राजनीतिज्ञले पनि सेयर बजारमा लगानी गरेको सुन्दा नौलो लाग्न सक्छ।
सेयर बजारमा पछिल्लो समय निकै आकर्षण बढेको छ। राजनीतिमा संलग्नहरु पनि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सेयर बजारमा लागेका छन्। तर विवेकशील साझा पार्टीका बागमती प्रदेशका सांसद् विराजभक्त श्रेष्ठ भने लामो समयदेखि राजनीतिसँगै सेयर बजारमा सक्रिय रुपमा लागेका छन्। ‘कहिलेकाहीँ साथीभाइ गफमा ‘म सेयर बजारमा लगानी गर्छु’ भन्दा कतिपय साथीहरुले ‘तपाइँ सांसद कि लगानीकर्ता ?’ भनेर प्रश्न पनि गर्नुहुन्छ’, श्रेष्ठ भन्छन्।
सांसद श्रेष्ठले सेयर बजारमा लगानी सुरु गरेको झन्डै ७ वर्ष जति भएको रहेछ। ‘राजनीतिमा लागेको भने ४ वर्ष जति भयो’, उनले भने।
सुरुआती दिनहरुमा आईपीओबाट लगानी सुरु गरेको श्रेष्ठले सुनाए। ‘अनि विस्तारै दोस्रो बजारमा पनि प्रवेश गरेँ। त्यस बेला बजार बढ्दो क्रममा थियो’, उनले भने, ‘त्यसैले धेरै कमाउने रहरले ऋण गरेर पनि लगानी गरेँ। त्यस बेला बजारमा मेरो झन्डै ७० लाख रुपैयाँको लगानी थियो। तर बजार घट्न सुरु गरेसँगै पोर्टफोलियो पनि आधाले घट्यो। ७० लाखको सेयर झन्डै ३० लाखमा झर्यो।’
त्यस बेला आफूले किनेको कम्पनीहरु बेचौँ कि होल्ड गरौँ भनेर अन्योलमा परेको पनि श्रेष्ठले बताए। ‘बैंक साथै साथीभाइसँग ऋण लिएर किनेकाले घाटा खाएर बेच्ने अवस्था पनि थिएन’, उनले आफ्नो अनुभव सुनाए, ‘आईपीओबाहेक दोस्रो बजार चाहिँ लगानीकर्ताको रिस्क लिने क्षमतामा नै भर पर्दो रहेछ।’
श्रेष्ठको पोर्टफोलियो घट्दा नेप्से इन्डेक्समा १८०० हाराहारीबाट झन्डै ७०० अंकको गिरावट आएको थियो। ‘त्यस बेलाको घाटा अहिले सम्झँदा नि झसंग हुन्छ तर त्यस बेलाको बजारबाट मैले धेरै कुरा बुझ्ने र जान्ने मौका पाएँ’, उनले भने, ‘सेयर बजारको उत्तरचढावले मलाई अनुभवी लगानीकर्ता बनाउँदै लग्यो। समयसँगै बजारबारे अध्ययन र अनुसन्धान पनि अघि बढाउँदै लगेँ।’
त्यस बेला लगानी जीवनको एउटा महत्वपूर्ण निर्णय लिएको पनि श्रेष्ठले बताए। ‘घाटामा भए पनि सेयर बेच्ने निर्णय गरेँ’, उनले भने, ‘त्यस बेला मलाई धेरैले सेयर नबेच्न सुझाव पनि दिएका थिए तर सेयर बजारमा म अरुको भन्दा आफ्नै कुरा सुनेर लगानी गर्छु। त्यस बेला सेयर बेचेर आएको पैसाले फन्डामेन्टली राम्रा कम्पनीहरु छनौट गरी किन्न सुरु भयो। हिमालयन डिस्टिलरी, नेपाल टेलिकमजस्ता राम्रो लाभांश दिने कम्पनीहरु आफ्नो पोर्टफोलियोमा थप्दै गएँ।’
हिमालयन डिस्टिलरी, नेपाल टेलिकम, नेपाल लाइफजस्ता कम्पनी नै किन ? भन्ने जिज्ञासामा श्रेष्ठ भन्छन्, ‘बजारमा हेर्ने हो भने यी कम्पनीको प्रतिस्पर्धा छैनन्। त्यसैले यी कम्पनीबाट समयसँगै राम्रो कमाउने ढुक्क भएर लगानी गरेको हुँ।’
सेयर बजारमा अहिले आएको ठूलो उछालले घाटा रिकभर भएर पनि नाफामै रहेको सांसद श्रेष्ठ बताउँछन्। ‘समयसँगै लगानी गरेको कम्पनीहरुबाट राम्रो लाभांश पनि आयो’, उनले भने।
श्रेष्ठको विचारमा सेयर बजारमा सफल हुनलाई २ कुरा अत्यावश्यक छ। पहिलो अध्ययन र दोस्रो धैर्यता। यी दुई गुण भएका लगानीकर्ता बजारमा सधैँ सफल हुन्छन्।
सेयर बजार आम्दानीको राम्रो स्रोतहरुमध्येको एउटा हो। ‘तर लगानीकर्ताले यसलाई नै आयआर्जनको प्राथमिक स्रोत भने बनाउनु हुँदैन’, श्रेष्ठ सुझाव दिन्छन्, ‘नेपाली सेयर बजार परिपक्व भएको छैन। त्यसैले स–साना कुराहरुले बजारमा उत्तरचढाव आउने गरेको छ।’
‘सेयर बजार जुवा घर हो’ भनेर तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईको अभिव्यक्तिले बजारमा आएको गिरावटबारे अवगत गराउँदै सांसद श्रेष्ठ भन्छन्, ‘यस्ता गतिविधिले बजारका ठूला माछाहरु त बच्छन् होला तर साना भने चपेटामा पर्छन्। यस्तो गतिविधिहरुलाई नियमन गर्ने नियामक निकायहरु पनि कमजोर भएको देखिन्छ।’
नेपाली सेयर बजारमा हुँदै आएको कर्नरिङ, इन्साइडर ट्रेडिङजस्ता गतिविधिबारे आमलगानीकर्ता अवगत नै रहेको उल्लेख गर्दै श्रेष्ठले भने, ‘तर नेप्से, धितोपत्र बोर्डलगायत अन्य नियामक निकायको यस विषयमा विशेष ध्यान नगएको देखिन्छ।’
सांसद श्रेष्ठको दृष्टिकोणबाट अब आउने दिनमा बजारलाई कसरी सुधार गर्न सकिन्छ भन्दा बजार एउटा समाज भएकाले बजार आफै सुधार उन्मुख छ। ‘त्यसैले बजारको आत्म–सुधार संयन्त्र हुन्छ। पाँच वर्षअघिको सेयर बजार र आजको सेयर बजार नियाल्ने हो भने आमूल परिवर्तनहरु भएका छन्’, उनी भन्छन्, ‘पाँच वर्षअगाडि लगानीकर्तााई सेयर कारोबार गर्न गाह्रो थियो। सेयर बजार सबैको पहुँचमा थिएन। अहिले त्यसको तुलनामा कारोबार गर्न धेरै सहज भएको छ। अनलाइनबाट कारोबार गर्ने लगानीकर्ताको संख्या पनि बढेर झन्डै सात लाख हाराहारी पुगेको छ। त्यस्तै बजारको अन्य क्षेत्रहरुमा पनि धेरै परिवर्तनहरु आएका छन्।’
मौद्रिक नीति, सरकारले विनियोजन गर्ने नीति र खर्चहरुले बजारमा भएको तरलताको अवस्था निर्धारण गर्ने श्रेष्ठको बुझाइ छ। ‘यी इकाइले संवेदनशील बजारको समग्र मानसिकता नै निर्धारण पनि गर्दछ’, उनले भने, ‘त्यसमाथि पनि अहिले नेपालको अर्थतन्त्र पानीको फोका जस्तो नै छ, यस विषयमा थप अनुसन्धान गरेर लेखमार्फत नागरिकहरुलाई सचेत गराउने तयारी पनि छ।’
नेप्सेमा कृषि, टेक्नोलोजी, यातायातलगायत अन्य विविध क्षेत्रका कम्पनी लिस्टिङ हुँदा बजार थप स्थिर हुने श्रेष्ठको बुझाइ छ। ‘बजारमा अहिले वित्तीय क्षेत्रका कम्पनीहरुको बाहुल्यता छ। एसियाको नै सबैभन्दा अन्डरभ्यालुड बजार नेपालको सेयर बजार हो भन्ने मेरो बुझाइ छ’, उनले भने, ‘त्यसैले नेपाली सेयर बजारमा धेरै सुधार गर्न सकिने ठाउँ छन्। अहिले बजारमा नियामक निकायहरुले सेयर कर्नरिङ र इन्साइडरमात्र नियमन गर्ने हो भने बजारमा धेरै सुधार हुन्छ। नियामक निकायहरुले त्यसो गर्नले साना लगानीकर्ता पनि मारमा पर्ने थिएनन्।’
सांसद भएको मानिसले पनि सेयर बजारमा लगानी गर्नुपर्छ ? भन्ने प्रश्नमा श्रेष्ठ भन्छन्, ‘राजनीति गर्नु अगाडिदेखि नै सेयर बजारमा लागानी गर्थें, दोस्रो कुरा सेयर बजारमा लगानी गर्दा बजारबारे बुझिन्छ। बजारबारे बुझ्दा देशको अर्थतन्त्र पनि बुझिन्छ।’
राजनीतिज्ञहरुले देशको अर्थतन्त्रबारे बुझ्न अत्यावश्यक रहेको श्रेष्ठको भनाइ छ। ‘अनि अर्को कुरा सेयरमा लगानी गर्ने सांसद्लगायत अन्य राजनीतिज्ञले संसद् विकास कोषलगायत अन्य कोषहरुको भर पर्नुपर्दैन।’
नेपालमा धेरैजसो राजनीतिज्ञले राजनीतिलाई पेसा बनाएका छन्। ‘त्यो गलत हो’, श्रेष्ठले भने, ‘राजनीति विशुद्ध योगदान गर्ने ठाउँ हो। राजनीति सेवा हो। सेयरमा लगानी गर्नले राजनीतिज्ञहरुले राजनीतिलाई आयआर्जनको स्रोत बनाउन आवश्यक पर्दैन। अध्ययन र अनुसन्धानबाट सेयर बजारमा लगानी गर्ने हो भने त्यसबाट हुने आम्दानीले दैनिकी खर्च सजिलै चल्छ। साथै, राजनीतिको मूल मर्म पनि जोगिई नै रहन्छ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago