काठमाण्डौ । प्रभु बैंकका नवनियुक्त अध्यक्ष लीलाप्रकाश सिटौलाले आजबाट पदभार ग्रहण गरेका छन्।
नवनियुक्त अध्यक्ष सिटौलाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै आजै बैंकको सञ्चालक समितिको बैठकको अध्यक्षता गरी पदभार ग्रहण गरेका हुन्। बैंकको स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त भएका उनीलाई गत पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा चयन गरेको थियो।
त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गरेका सिटौलाले नेपालको बैंकिङ क्षेत्रमा लामो कार्यानुभव सँगालेका छन्। नेपाल राष्ट्र बैंकमा २५ वर्षको सेवाअवधि पूरा गरी उनी कार्यकारी निर्देशक पदबाट सेवानिवृत्त भएका थिए।
सिटौलाले कृषि विकास बैंकमा ४ वर्ष प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्य गरेका थिए। उक्त अवधिमा परम्परागत रुपमा बैंकिङ सेवा प्रवाह गरिरहेको कृषि बिकास बैंकलाई डिजिटल प्रविधिमा लैजान उनको विशेष योगदान थियो।
उक्त अवधिमा नेपालका वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको कार्यसमितिमा रही सिटौलाले कार्य गरेका थिए। उनले बीमा संस्थान, नेपाल स्टक एक्सचेन्ज र कर्जा सूचना केन्द्रको सञ्चालक समितिमा समेत रहेर कार्य गरिसकेका छन्।
यसअघि प्रभु बैंकको सञ्चालक समितिका अध्यक्षमा रहेका सिटौला सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
नेपालको बैंकिङ क्षेत्रमा लामो समयसम्म कार्यरत रहेर बैंकिङ जगतका विविध क्षेत्रमा अनुभव हासिल गरेका अधयक्ष सिटौलाको नेतृत्व प्राप्त गर्नु प्रभु बैंक, सेयरधनी, ग्राहक तथा सरोकार राख्ने सबैका लागि गौरवको विषय हुने बैंकले जनाएको छ।
अध्यक्ष सिटौलाको नेतृत्वबाट प्रभु बैंकको व्यापार–व्यवसाय अभिवृद्धि हुनुका साथै अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय सेवा विस्तारमा थप हौसला मिल्ने बैंकले विश्वास लिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19