काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको सेयर धितोपत्र दोस्रो बजारमा छिट्टै कारोबारमा आउने भएको छ। 

साबिक प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्जरपछि बनेको प्रभु महालक्ष्मी लाइफको नाममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) सेयर सूचीकृत गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ। नेप्सेमा सूचीकृत भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार आउने कम्पनीको भनाइ छ। 

मर्जरअघि दोस्रो बजारमा साबिक प्रभु लाइफ इन्स्योरेन्सको मात्रै सेयर सूचीकृत रहेको थियो। महालक्ष्मी लाइफले साधारण सेयर (आईपीओ) जारी गरेको थिएन। मर्जरपश्चात लामो समयसम्म दोस्रो बजारमा कम्पनीको सेयर कारोबारमा नआउँदा सेयरधनीहरुको लगानी होल्डमा बसेको छ। 

अब कम्पनीका सेयरधनीहरुले दोस्रो बजारमा छिट्टै सेयर कारोबार गर्न पाउने भएका छन्। कम्पनीले सबै प्रक्रिया पूरा गरी एकीकृत कम्पनीको नामबाट सेयर सूचीकृत गराउने तयारी गरेको छ। ‘साबिक प्रभु लाइफको बोनस सेयर नेप्सेमा सूचीकृत गराई अब प्रभु महालक्ष्मी लाइफको नामबाट सेयर नेप्सेमा सूचीकृत गराउने तयारी भइरहेको छ’, कम्पनीका एक अधिकारीले भने, ‘साबिक महालक्ष्मी लाइफले सर्वसाधारणमा सेयर जारी नगरेका कारण नेप्सेमा सेयर सूचीकृत गराउन ढिला भएको हो, अब सबै प्रक्रिया पूरा भइसकेको छ।’  

मर्जरमा गएका साबिक प्रभु लाइफ र महालक्ष्मी लाइफमध्ये एक कम्पनीले आईपीओ जारी गरेको र अर्कोले नगरेका कारण नेप्सेमा सूचीकरण प्रक्रियामा ढिला हुन पुगेको कम्पनीका सूचना अधिकारी किशोर लामिछानेले बताए। ‘साबिक महालक्ष्मी लाइफ कम्पनीले आईपीओ जारी नगरेका कारण कम्पनीको प्रोमोटर सेयरसम्बन्धी विवरण नेपाल धितोपत्र बोर्डमा पेस गर्नुपर्ने भएकोले सोसम्बन्धी विवरण आज बोर्डमा पेस गर्दैछौँ’, उनले भने, ‘अबको एक साताभित्रै नेप्सेमा प्रभु महालक्ष्मी लाइफको सेयर सूचीकृत भई लगानीकर्ताले सेयर कारोबार गर्न पाउनेछन्।’ 

मर्जपछि कम्पनीको चुक्तापुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ पुगेको छ। साबिक प्रभु लाइफको नेप्सेमा यसअघि २ करोड १९ लाख ६० हजार कित्ता सेयर सूचीकृत थियो। नेप्सेले २०७९ असार ३१ गतेदेखि मर्जर प्रयोजनका लागि कम्पनीको सेयर कारोबार रोक्का राखेको थियो। 

कम्पनीको सेयर दोस्रो बजारमा ‘पीएमएलआई’ सिम्बोलबाट सूचीकृत हुने संकेत देखिएको छ। मर्जरपश्चात कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थ (बुक भ्यालु) ११९.०७ रुपैयाँ रहेको छ। यसआधारमा कम्पनीको सेयरले पहिलो कारोबारका लागि न्यूनतम ११९.०७ रुपैयाँदेखि अधिकतम ३५७.२१ रुपैयाँसम्म ओपनिङ रेन्ज पाउने देखिएको छ।