काठमाण्डौ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा प्रभू इन्स्योरेन्सले खूद नाफातर्फ करिब २३ प्रतिशतको फड्को मारेको छ । 

यो अवधिमा कम्पनीले १३ करोड ८ लाख खूद नाफा आर्जन गरेको हो, जबकि अघिल्लो वर्षको यही अवधिमा उसले १० करोड ६४ लाख मात्र नाफा आर्जन गरेको थियो ।

प्रिमियमबाट हुने आम्दानी समेत ३६ करोड ६२ लाखबाट वृद्धि भई ३९ करोड ४४ लाखको उचाईमा पुगेको छ । 

यो कम्पनीले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई १९.२० प्रतिशत बोनस सेयर दिएको थियो । सो समेत जोड्दा कम्पनीको चूक्तापूँजी ६८ करोड ८४ लाख रहेको छ भने ९ करोड ४९ लाखको जगेडाकोष तथा ३९ करोड ५९ लाख बराबरको बिमा कोष रहेको छ । यो कम्पनीले आफ्ना सेयरधनीलाई ४६ प्रतिशत हकप्रद समेत वितरण गर्दैछ, यसपछि कम्पनीको चुक्तापूँजी बढेर एकअर्ब माथि पुग्नेछ ।

समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी २५.३३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ र मूल्य आम्दानी अनुपात २६.१७ गुणा कायम भएको छ ।