– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सीईओ कृष्णबहादुर कार्कीले प्राविधिक रुपमा कुनै समस्या सिर्जना नभएको खण्डमा असारबाट हप्तामा ६ दिन सेयर कारोबार सञ्चालन गर्न सकिने बताएका छन्। 

सरकारले असारबाट सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेजको अवस्थामा सेयर बजार अब कति दिन खुल्ने भन्ने बिजशालाकर्मीको जिज्ञासामा सीईओ कार्कीले धारणा राखेका हुन्। उनले नेपाल धितोपत्र बोर्ड, सीडीएससी, ब्रोकर र मर्चेन्ट बैंकलगायतसँग छलफल गरी प्राविधिक समस्याहरु सिर्जना नभएमा हप्ता ६ दिन पनि कारोबार सञ्चालन गर्न सकिने बताए। हाल सेयर बजार साताको ५ दिनमात्रै कारोबार हुन्छ।

कार्की असारबाट शुक्रबार सेयर कारोबार खुला गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भइरहेको बताउँछन्। ‘नेपाल धितोपत्र बोर्डलगायत नियामक निकायहरुसँग शुक्रबार सेयर बजार खुला राख्ने कि नराख्ने भन्ने विषयमा छलफल भइरहेको छ, निर्णय भइसकेको छैन’, उनले भने, ‘१–२ दिनमै निर्णय होला।’

नेपाल धितोपत्र बोर्ड (सेबोन) का प्रवक्ता निरज गिरी हप्ताको ६ दिन नै सेयर कारोबार सञ्चालनबारे बोर्डमा अहिले कुनै पनि किसिमको छलफल नभएको बताए। ‘तर, यस विषयमा निर्णय लिनुअघि नेप्से, बोर्डलगायतका पदाधिकारीबीच छलफल आवश्यक छ’, उनले भने।

धितोपत्र बोर्ड, नेप्सेलगायतका अन्य निकायसँग छलफल गरेर निष्कर्ष आएपछि मात्र ६ दिन बजार सञ्चालन बारे भन्न सकिने गिरीले बताए। ‘त्यसका लागि कानुनमा सुधार, पदाधिकारीबीच छलफल, ६ दिन कारोबारका फाइदा तथा बेफाइदालगायतका विविध पाटाहरू पनि हेरिनुपर्छ’, उनले भने।

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनाली हप्ताको ६ दिन नै कारोबार गर्न ब्रोकरहरुको पाटोमा समस्या नभएको बताए। ‘विगतका दिनमा पनि हाम्रो कार्यालय शुक्रबार पनि खुलेको नै हो। त्यसैले उक्त निर्णय भएमा ब्रोकरका तर्फबाट स्वागतयोग्य छ’, मैनाली भन्छन्, ‘हप्ताको ६ दिन कारोबार गर्दा ब्रोकर लगायत लगानीकर्ता, नियामक, सरकार लगायत सबै निकायलाई फाइदा नै हुन्छ।’

सीडीएससीका सीईओ पूर्ण प्रसाद आचार्य धितोपत्र बोर्डबाट अनुमति आएमा सेटलमेन्टमा कुनै समस्या नहुने बताए। ‘हप्ताको ६ दिन नै कारोबार भएमा प्राविधिक हिसाबले हामीसक्षम छौँ’, उनले भने, ‘टी प्लस टुमा सजिलै सेटलमेन्ट गर्न सकिन्छ।’

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल हप्ताको ६ दिन नै कारोबार भएमा उक्त निर्णय लगानीकर्ताका लागि स्वागतयोग्य भएको बताइन्। ‘हप्ताको ६ दिनमात्र होइन सकिन्छ भने चौबीसै घन्टा बजार सञ्चालन गरौँ’, उनले भनिन्।

यसअघि सरकारले जेठबाट लागू हुने गरी परीक्षणका रुपमा सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। तर, सरकारको यो निर्णयको चौतर्फी आलोचना र उल्लंघन पनि भयो। त्यसपछि सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गर्यो।
सार्वजनिक बिदासम्बन्धी सरकारको अघिल्लो निर्णयपछि विभिन्न निकायले सोहीअनुसार कामकारबाही अगाडि बढाएका थिए। 

सरकारको सोही निर्णयपछि सेयर बजार खुल्ने दिन पनि फेरबदल भएको छ। सार्वजनिक बिदा दुई दिन दिइएपछि सेयर बजार सोमबारदेखि शुक्रबारसम्म खुल्ने व्यवस्था गरिएको छ। त्यसअघि आइतबारदेखि बिहीबारसम्म सेयर बजार खुल्ने गरेको थियो।

सरकारले अब सातामा दुई दिन बिदा दिने निर्णय खारेज गरेसँगै अब सेयर बजार शुक्रबार खुल्छ कि मा के होला भन्ने आमचासोको विषय बनेको छ।