– अर्जुन तिमिल्सिना

काठमाण्डौ । यो साता नेपालको आकाशमा बादल लागे पनि सेयर बजारको आकाश भने हरियाली नै रह्यो। साप्ताहिक रुपमा जम्मा ४ दिन कारोबार भए पनि झन्डै आधा खर्ब अर्थात् ५० अर्ब ७७ करोडको कारोबार भयो। जुन अघिल्लो साता ५ दिन बजार खुल्दाभन्दा २ अर्ब रुपैयाँले मात्र कम हो। यो साता औसत रुपमा दैनिक कारोबार साढे १२ अर्बभन्दा बढी रहेको छ। 

यो साता नेप्से परिसूचक २८ अंकले सकारात्मक भयो। बजारमा राष्ट्र बैंकको सर्कुलरले यो साता राम्र्रै चर्चा पायो तर ठूलो प्रभाव भने परेको देखिएन। 

सरकारले ल्याउने बजेट लगानीकर्तामैत्री मैद्रिक नीति पनि आउने सम्भावनाका कारण लगानीकर्ता आशावादी हुँदा बजार सकारात्मक बनेको विश्लेषकहरु बताउँछन्। यो साता  सम्रगमा बजार सकारात्मक र सुखद् नै रह्यो। 

यसै सिलसिलामा आज हामीले वाणिज्य बैंक समूहमध्ये एउटा प्राइम कमर्सियल बैंकको आधारभूत तथा प्राविधिक विश्लेषण गरेका छौँ। 

आधारभूत पक्ष

नेपालका २७ वटा वाणिज्य बैंक छन्। तीमध्ये २६ वटा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत छन्। तिनै सूचीकृतमध्येको एउटा हो, प्राइम कमर्सियल बैंक। यो बैंकको राजधानीमा ४८ वटा र राजधानीबाहिर १४३ वटा शाखा छन्। बैंकिङ सेवा र रेमिटेन्सलाई आम्दानीको स्रोत बनाएको यो बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सेयरपुँजी १६ अर्ब ८ करोड रुपैयाँभन्दा बढी रहेको छ भने  जगेडा कोषको आकार ५ अर्ब रुपैयाँबराबर रहेको छ। रिर्टन अन अर्निङमा २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। 

तेस्रो त्रैमासमा यो बैंकले २ अर्ब ८१ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २३.८६ रुपैयाँ, मूल्य आम्मदानी अनुपात (पीई रेसियो) १९.३१ गुणा र प्रतिसेयर नेटवर्थ १४५.०८ रुपैयाँ रहेको छ। 

समीक्षा अवधिसम्म बैंकले निष्क्रिय कर्जा घटाएर ०.८६  प्रतिशतमा झार्न सफल भएको छ। अघिल्लो वर्ष बैंकको निष्क्रिय कर्जा ०.९७ प्रतिशत रहेको थियो। 

पछिल्लो १० वर्षको तथ्यांक हेर्दा बैंकको वार्षिक औसत लाभांश दर १७ प्रतिशत हुन आउँछ। बैंकले सन् २०१६ सालमा ३ः१ प्रतिशत हकप्रद जारी गरेर पुँजी बढाएको थियो।

प्राविधिक पक्ष

इलिअट वेभ सिद्धान्तका आधारमा 

यो सिद्धान्त १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विश्लेषणमा यो वेभ किन पनि धेरै विश्वासिलो मानिन्छ भने यो वेभ लाखौँ लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। खासमा सेयर बजार सेयरको मूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण छ। यो वेभमा ५ वेभ र ९ डिग्री  हुन्छन्। त्यस्ता डिग्रीहरु सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समयावधिलाई प्रतिनिधित्व गर्छन्। 

इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ५ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सी बजार तल जाने संकेत गर्छ। यो बैंकले बनाएको इलिअट वेभको रेखाचित्र र फिवोनासीलाई संयुक्त रुपमा जोडेर हेर्दा इन्टरमिडियट डिग्री (१,२,३,४,५) जुन एक वर्षभन्दा बढी समयावधिको हुन्छ, जुन हाल चलेको बुझिन्छ। सिग्नल बुलिस नै रहेको र वेभ ५  बनाउने चरणमा देखिएकोले यदि यो वेभ ५ बन्छ भने यसको मूल्य लगभग ६०० रुपैयाँसम्म पुग्न सक्ने अनुमान लगाइन सकिन्छ। (तस्बिर माथि राखिएको छ)

फिवोनासी सिद्धान्तका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपल्ट बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यो औजारअन्तर्गत आगामी दिनमा यदि यो बैंकको सेयरभाउ बढेमा ०.७८ को प्रतिरोध ४६८ रुपैयाँ, १ प्रतिशतको प्रतिरोध ४६२ रुपैयाँ हुन्छ भने १.६१ प्रतिशतको वृद्धि ५२६ रुपैयाँ र २.६१ को वृद्धि ५९६.४१ रुपैयाँसम्म हुनेछ।

एमएसीडी लाइनका आधारमा

सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनलाई आधार मान्ने हो भने गत मे १३ का दिन एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काटेको (हरियो एरोले देखएको) र खरिद सिग्नल बनेको देखिन्छ। जसले खरिद सिग्नल अझै भ्यालिड रहेको देखिन्छ। हिस्टोग्राम (कालो एरोले देखाएको) पोजेटिभ र लामा–लामा हुँदै गएकोले केही समय बुलिस नै रहने अनुमान लगाउन सकिन्छ।

बोलिंगर ब्यान्डका आधारमा

यो सिद्धान्त १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उत्तारचढावको  विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। लामो समयदेखि यो बैंकको ब्यान्ड साँघुरो बन्दै गएको र यो औजारअन्तर्गत  बैंकको मूल्यरेखाले माथिल्लो ब्यान्डलाई छोएर हरियो क्यान्डल बनाएकोले आगामी कारोबारमा खरिदचाप पर्न सक्ने देखिन्छ।

आरएसआईका आधारमा 

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यो बैंकको हालको आरएसआई ६० को बिन्दुमा रहेको छ। जसको अर्थ हुन्छ, यो बैंकको आरएसआई न्युट्रल जोनभन्दा केहीमात्रै माथि छ। यदि यो तहबाट माथि जान्छ भने बुलिस यात्रा तय भएको मान्न सकिन्छ। अघिल्लोपटक यो विन्दु ६५.३९ को तहमा पुगेपछि करेक्सन आएको थियो। यसलाई आधार मान्ने हो भने आगामी दिनमा यो बैंकको सेयरभाउ केही बढ्न सक्ने बुझिन्छ।

पिभट विश्लेषणका आधारमा

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उत्तारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

प्रतिरोध १ –४६०

प्रतिराध २– ४६८ 

प्रतिराध ३– ४८९

पिभट पेइन्ट– ४४७

घटेमा सर्पोट 

सपोर्ट १– ४३९

सर्पोट २– ४२६

सर्पोट ३– ४०५

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एउटा औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन।