– अनन्त्य सुन्दर

काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ का लागि प्राइम कमर्सियल बैंकले १६.६३१३ लाभांश वितरण गरेको छ। कुल १६.६३१३ प्रतिशत लाभांशमा बैंकले १६ प्रतिशत बोनस सेयर र ०.६३१३ प्रतिशत नगद लाभांश वितरण गरेको हो। उक्त नगद लाभांश कर प्रयोजनका लागि छुटाइएको हो।

बैंकको १४ औँ वार्षिक साधारणसभाबाट पारित भइसकेको बोनस सेयर नेप्सेमा सूचीकृत हुँदा पनि अधिकांश लगानीकर्ताको डिम्याट खातामा आएको छैन। बैंकले कर प्रयोजनका ०.८४२ रुपैयाँ छुटाउनुपर्नेमा ०.६३१६ रुपैयाँ छुटाएको थियो। अर्थात् बैंकले कर प्रयोजनका लागि ०.२१२ रुपैयाँ कम छुटाउँदा नेप्सेमा सूचीकृत भइसक्दा पनि धेरैजसो लगानीकर्ताको खातामा अहिले बोनस सेयर नआएको अवस्था छ।

बैंकको आरटीएस सिभिल क्यापिटलले एक दिनअघि सूचना प्रकाशित गर्दै लगानीकर्तालाई आफ्नो हितग्राही खाता उल्लेख गरी उल्लेखित बैंक खातामा करबापतको रकम जम्मा गर्न भनेको छ। सूचनामा करबापतको रकमसम्बन्धी विवरण डिजिटल प्रणालीमा अद्यावधिक गर्ने कार्य भइरहेकाले केही समय लाग्ने भएकाले लगानीकर्तालाई करबापतको रकम जम्मा गर्न अर्को सूचनासम्म प्रतीक्षा गर्न भनिएको छ।

बैंक तथा क्यापिटलले समयमा लगानीकर्तालाई जानकारी नगराउँदा लगानीकर्तालाई घाटा त भएको छ नै १०–२० रुपैयाँ कर तिर्नका लागि बैंकमा लाइन लाग्ने अवस्था पनि सिर्जना हुने भन्दै लगानीकर्ताहरुले विरोध गर्दै आएका छन्।

‘अहिले प्रविधिको प्रयोग बढ्दो भएकाले लगानीकर्तालाई दुःख दिनुभन्दा मेरो सेयरमा बैंक खाताबाट नै शुल्क तिर्न सक्ने गरी सूचना राख्नुपर्छ’, लेखक तथा सेयर विश्लेषक रवीन्द्र भट्टराईले आफ्नो फेसबुकमा लेखेका छन्, ‘मेरो सेयरमा नै उक्त सूचना राख्दा लगानीकर्तालाई सहज हुनुका साथै सीडीएससीले पनि बैंकबाट शुल्क लिएर आम्दानी हुन्छ।’

सिभिल क्यापिटलले प्रकाशन गरेको सूचनामा पनि लगानीकर्ताको आक्रोश र पीडाले भरिपूर्ण छ। अन्य लगानीकर्ताले बोनस सेयर खातामा आएर बेचिसक्दा पनि आफूहरुलाई भने कति र कसरी कर तिर्ने भन्ने थाहा नभएका साथै क्यापिटलले प्रकाशन गरेको सूचना स्पष्ट नभएकाले लगानीकर्ताहरुमा अन्यौलता झनै बढेर गएको छ। क्यापिटलको फेसबुकको कमेन्टमा लगानीकर्ताहरु कर कति तिर्ने, बैंक खाताको नामलगायतको प्रश्नहरु राख्दा पनि सम्बन्धित निकायले कुनै रेस्पोन्स गरेको छैन। 

प्राइम बैंकले भने बुक क्लोज भएको महिनौँ दिन बित्दा बल्ल सूचना प्रकाशित गर्ने तयारीमा जुटेको छ। बैंकका कानुनी अधिकारी श्रीराम वाग्लेले बैंकले सम्भवतः भोलिसम्म सूचना प्रकाशित गर्ने बताए।

‘लगानीकर्ताको खातामा सेयर पठाउने, कर लिने, सूचीकृत गर्ने सबै काम कम्पनीको आरटीएस गर्ने हो’, वाग्ले भन्छन्, ‘सिभिल क्यापिटलले सूचना प्रकाशित गरिसकेको छ। लगानीकर्तामा केही अन्यौलता कम भएको अवस्था छ। बैंकले सम्भवतः भोलिसम्म आफ्नो वेबसाइटमा सूचना प्रकाशन गर्ने तयारी भइरहेको छ।’

‘हामीले काम गरिरहेका छौँ’, वाग्लेले भने, ‘लगानीकर्ताले हितग्राही खाता नम्बर हालेपछि कति कर तिर्ने ? कसरी तिर्ने ? वालेटबाट कसरी तिर्ने ? भन्ने प्रस्ट हुन्छ।’

समयमा बोनस सेयर खातामा नआउँदा घाटा कसले व्यहोर्छ ? भन्ने प्रश्नको उत्तर दिँदै वाग्ले भन्छन्, ‘प्राविधिक समस्याले गर्दा यो समस्या आएकाले अहिले घाटा क्यालकुलेसन नगर्दा नै ठिक होला। अर्को वर्षदेखि लगानीकर्ताले यस्तो समस्या भोग्नुपर्दैन।’

बैंकका पब्लिक सञ्चालक गजेन्द्र बिष्टले कर छुट नपाएका नयाँ लगानीकर्तालाई कर प्रयोजनका लागि शुल्क तिर्नुपर्छ भनेर साधारण सभाबाट नै सूचना जारी गरी जानकारी गराएको बताए। ‘अधिकांश लगानीकर्ताको खातामा बोनस सेयर गएको छ। हामीले अहिले बैंकमा यसकै लागि १०–१२ जना कर्मचारी छुटाएका छौँ’, बिष्टले भने, ‘त्यसैले बोनस सेयर नआएका लगानीकर्ताले कर तिर्नेबित्तिकै सेयर आउँछ।’

प्राइम बैंकले कैलाश विकाश बैंक अधिग्रहण गरेपछि नाम जुध्ने, हितग्राही खाता नमिल्नेजस्तो समस्याले पनि ढिलाइ भएको बिस्टले बताए। ‘प्राइम बैंकको १०० कित्ता भएको लगानीकर्ताले १६ कित्ता बोनस पाउँछन्। ती लगानीकर्ताले १५५ रुपैयाँको पेट्रोल हालेर २०–३० रुपैयाँ बुझाउन बैंक धाउने ? भनेर प्रश्न पनि आउँछ’, बिष्ट भन्छन्, ‘अहिले प्रविधिको प्रयोग बढेसँगै बैंक नै धाउन आवश्यक छैन। मोबाइल बैंकिङ, वालेटबाट पनि सजिलै तिर्न सकिन्छ। कसरी तिर्ने सकिन्छ भनेर बैंकले १–२ दिनमै सूचना निकाल्ने तयारी गरेको छ।’