काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज चैत ३० गते अन्तिम दिन रहेको छ। 

गत चैत १६ गतेबाट बैंकले ‘प्राइम डिबेन्चर २०८८’ नामक ऋणपत्र निष्कासन गरेको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ ऋणपत्र जारी गरेको छ। कुल इकाइमध्ये बैंकले १५ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी १० लाख इकाइमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। 

धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका अनुसार अब यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतममा ५ लाख इकाइसम्म आवेदन दिन पाउनेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट दिन सकिनेछ। 

दसवर्षे अवधिको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन्।

नेपाल धितोपत्र बोर्डले यो ऋणपत्रलाई गत फागुन २३ गते निष्कासन अनुमति दिएको थियो।