– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सेयर बजारबाटै कमाएर लगानीकर्ताहरु देश–विदेश घुमेका समाचार हामीले प्रशस्त सुन्न र पढ्न पाउँछौँ।
केही समयअघि भारतकी एक युवतीले सेयर बजारबाटै कमाएर विश्वका आधाजसो देश घुमेको समाचार पनि सार्वजनिक भएको थियो। तर, हाम्रै नेपालमा पनि सेयर बजारबाट कमाएर गाडी चढेको र अमेरिका घुमेको यथार्थ कथा सुन्दा अहिलेको घटेको बजारमा थोरैलाई मात्रै विश्वास लाग्ला। त्यसो त हाम्रा सडकमा गुडेका धेरैजस्तो विलासी गाडीको स्रोत खोज्यो भने ती पनि सेयर बजार र घरजग्गा कारोबारकै आम्दानीबाट खरिद गरेको पाइन्छ। यी क्षेत्रमा अलिकति बुद्धि लगाउने र राम्रो मार्केटिङ गर्न जान्नेहरुले छोटो समयमा राम्रै आम्दानी गरेको पाइन्छ।
सेयर बजारमा पुरानो र परिचित नाम हो, कान्छी शेर्पा। पुख्र्यौली घर सोलुखुम्बु भएकी शेर्पा हाल बसुन्धारकी स्थायी बासिन्दा पनि हुन्।
सनी सेक्युरिटिज (स्टक ब्रोकर नं. ४२) मा भेटिएकी शेर्पाले आफ्नो मोबाइलमा पोर्टफोलियो देखाउँदै भनिन्, ‘मैले प्राथमिक सेयरकै आम्दानीबाट गाडी किनेँ। पहिले प्राथमिक सेयर धेरै पर्थ्यो। मैले ४ लाख रुपैयाँजतिमा किनेको प्राथमिक सेयर १६ लाख रुपैयाँमा बेचेँ। त्यही पैसाले मैले गाडी पनि किनेँ। पछि गाडी बेचेँ। केही समयपहिले अमेरिका पनि घुमेर आएँ। आफन्तहरु अमेरिकामै रहेकाले बेला–बेला जाने–आउने गर्छु।’
करिब १५ वर्षपहिले सेयर बजारमा होमिएकी शेर्पाको अनुभवमा पैसा बैंकमा राख्नुभन्दा घटेको समयमा थोरै–थोरै दोस्रो बजारमा लगाउँदा फाइदै हुने बताउँछिन्। अहिले पनि घटेको बेलामा उनले २ लाख रुपैयाँजतिको सेयर दोस्रो बजारबाट खरिद गरेकी छन्।
शेर्पाको अनुभवमा किन्दा थोरै–थोरै किन्ने र बढेको समयमा एकमुष्ट बेच्दा राम्रो हुन्छ। ‘कमाइको पैसा पनि देखिन्छ नि’, उनले भनिन्।
पछिल्लोपटक शेर्पाले चिलिमेलगायत जलविद्युत कम्पनीहरुमा लगानी गरेकी छन्।
शेर्पा ब्रोकर हाउसमा भने निकै फुर्तिली र सेयर बजारका विषयमा सकारात्मक देखिन्छिन्। शेर्पा अहिले घटे पनि बजारको भविष्य भने निकै सुनौलो रहेको बताउँछिन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago