काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले गत फागुन ३० गते (सोमबार) सेयर कारोबार बन्द भएकोबारे छानबिन गर्न निर्देशन दिएका छन्। 

अर्थ मन्त्रालयमा शुक्रबार आयोजित मन्त्रालय मातहतका निकायको दोस्रो त्रैमासिक समीक्षा कार्यक्रममा अर्थमन्त्री शर्माले त्यसबारे तत्काल छानबिन गर्न नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अधिकारीहरुलाई निर्देशन दिएका हुन्। उनले यस्ता समस्या बारम्बार दोहोरिन नदिन पनि निर्देशन दिए। 

केही दिनअघि नेप्से बन्द भएको कुरा गम्भीर रहेको उल्लेख गर्दै शर्माले भने, ‘त्यो सामान्य विषय होइन, त्यसैले अहिलेको नेतृत्वले यो समस्या समाधान गरोस्।’

शर्माले बजार बन्द हुनुमा प्राविधिक विषयमात्र हो भन्नेमा शंक पनि व्यक्त गरे। ‘बजार बन्द हुनुमा प्राविधिक विषयमा मात्र होइनजस्तो लाग्छ’, उनले भने, ‘यसले समग्र पुँजी बजारलाई नै असर गरेको छ, तत्काल छानबिन गर्नुहोस्।’

गत सोमबार ब्रोकरको ब्रोकर डाटा सेन्टरमा समस्या देखिएपछि टीएमएस नचल्दा सेयर कारोबार स्थगित गरिएको थियो। उक्त दिन करिब पौने दुई घन्टामात्रै सेयर बजार खुलेको थियो।