-धनकुमार राई

हामीले बजारमा सुनेको, पढेको, देखेको प्राविधिक विश्लेषण विशेष गरी जोखिम न्यूनिकरण विश्लेषण विधि या बजारको मनोविज्ञान बुझेर लगानीकर्तालाई लगानीपूर्व निर्णय गर्न सहयोग गर्ने विधि मान्नु पर्दछ । यहाँ धेरै जटिल गणितीय, तथ्याङ्किय अवधारणाहरुलाई एकबद्ध गरेर विभिन्न संकेतहरुको विकास गरिएको हुन्छ, जसले लगानीयोग्य बजार तथा स्टकको बारेमा सूसुचित गरिरहेको हुन्छ । विकसित बजारमा प्रयोग हुने तिनै प्राविधिक उपकरणहरुलाई यहाँ प्रविधिमैत्री सहभागीहरुले नेपाली बजारमा पनि प्रयोग तीव्र बनाएका छन् । प्राविधिक विश्लेषण धर्का तान्नु र तान्ने मात्रै हो भन्ने मानसिकताले लगानीकर्ताहरुलाई कागजी जमानाको बजार प्रतिस्पर्धीको रुपमा उभ्याउँछ । 

बजारमा सेयर सर्टिफिकेट बोकेर हिँड्ने र डिम्याट खाताको फरक त हामीले महसुस गरिसकेकै छौं । हामीले नेपाली बजारको सुरुवातका दिनमा फ्लोरमा गएर सेयर किन्ने गर्नु पर्दथ्यो । सो अवस्था र आजको ब्रोकरकहाँ गएर ब्रोकर टर्मिनलमा खरिद गर्ने प्रविधिको फरक महसुस गरिएको छ ।

अनि अब अभ्यासमा रहेको नेप्सेको ट्रेडर टर्मिनलको प्रयोग पनि प्राविधिक रुपान्तरण स्वरुप अंगिकार गरिएको हुनाले यस्ता प्रविधिमैत्री विकासले बजारमा लाखौंले एकसाथमा स्वचालित माध्यमबाट आफ्नो सक्रियता प्रदर्शन गर्न पाउने अवसर प्राप्त हुन्छ । सोसँगै बजारमा तीव्र गतिमा निर्णय लिएर काम गर्नुपर्ने आवश्यकता आउँछ, अब सो तीब्रतासंग प्रतिस्पर्धा गर्न प्राविधिक विश्लेषणबिना कठिन मात्र नभएर असम्भव नै देखिन्छ ।  

जस्तैः नेपाली बजारमा आजको बजारमा देखिएको उत्साहपूर्व नै हप्तौ अगाडिदेखि चार्टमा डाइभरजेन्स देखियो, अब बजारले गति परिवर्तन गर्छ ।

बजार अधिक खरिददारी जोनमा छ, अब बिक्री नगरौं है, बजारमा चार्टमा बुलिस गार्टलेले बजारको बढोत्तरीलाई संकेत गर्दैछ है, बजारमा डबल टप बन्यो है बजार बढ्छ आदि आदि सूचनाहरु हामीले प्राविधिक गणनाको आधारमा दिन सकेका थियौ । 

यसरी बजारको प्राविधिक विश्लेषणलाई स्वीकार नगर्नु भनेको सन् १९९४ सालको अवस्थाकै बजारको परिकल्पनाभन्दा अर्को केही नभएकोले सबैले प्राविधिक विश्लेषण सिकौं, समय अनुसारको प्रविधिको प्रयोगले तपाइको लगानी ब्यवस्थापनमा सहयोग पक्कै गर्ने नै छ । 

प्राविधिक विश्लेषणलाई प्रयोग गर्न नजान्नु लगानीकर्ताहरुको अहित पक्कै हो । किनभने बजारमा प्राप्त सूचनाहरुको प्रभाव बजारमा रहन्छ र सूचना नै बजारको मुख्य उत्प्रेरक हुन्छ र सूचनाले नै बजारलाई डोहोर्याइरहेको हुन्छ । सूचनाको प्रत्यक्ष प्रभाव के हुनसक्छ भन्ने सबैलाई थाहा हँुदैन र प्राविधिक संकेतहरुले सूचनाको प्रभावले बजारको आम सहभागीहरुको सक्रियतालाई सुक्ष्म रुपमा साना–साना डाटाको माध्यमबाट तथ्याङ्क सिर्जना गर्दै

प्राविधिक संकेतहरुको रुपमा विकास गरी तुरुन्तै अलर्ट गराउँदछ । र, लगानीपूर्व र लगानीको अवस्थामा लगानी ब्यवस्थापनार्थ निर्णय गर्न सघाउँछ । 
म्यूचुअल फण्ड, इन्भेष्टमेन्ट कम्पनी, पोर्टफोलियो म्यानेजर, व्यवसायिक लगानीकर्ताहरुले पनि प्राविधिक विश्लेषणको तथ्याङ्किय विधिलाई नै लगानी ब्यवस्थापनको मुख्य सहयोगी मान्दछन् । 

(लेखक नेपाली सेयर बजारका प्राविधिक विश्लेषक तथा जानकार हुन् ।)