काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरेको छ । योसँगै साताको अन्तिम कारोबारको दिन बिहीबारदेखि नै सो कम्पनीको सेयर  किनबेच हुन थालेको छ । 

कम्पनीले सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता २८ सय ५१ रुपैयाँ प्रिमियम थपेर २९ सय ५१ रुपैयाँमा फर्दर पब्लिक अफरिङ (एफपिओ) गर्न  लागेपछि कम्पनीले तोकेको मूल्यले दोस्रो बजारलाई नकारात्मक असर पर्ने भन्दै बोर्डले केही दिनअघिदेखि सेयर कारोबार रोकेको थियो । 

हालसम्म प्रिमियम मूल्य निर्धारण कसरी गर्ने भन्ने सन्दभर्मा प्रष्ट नीति छैन । बोर्डले प्रिमियम मूल्य निर्धारण सम्बन्धमा एकरुपता ल्याउन नीतिगत आधार छिट्टै तयार गर्ने र त्यसका लागि समय लाग्ने भएकोले लगानीकर्ताको हितलाई ध्यानमा राखी सेयर कारोबार खुला गरिएको स्पष्ट पारेको छ । 

धितोपत्र बोर्डले जारी गरेको प्रेस विज्ञप्ति । 

.........................................................................................................

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडको फर्दर पब्लिक इस्यूका लागि तयार गरेको विवरणपत्र स्वीकृतिका लागि बोर्डमा पेश गरिसकेको र बोर्डले प्रिमियम मूल्य निर्धारण सम्बन्धमा एकरुपता ल्याउन स्पष्ट नीतिगत आधार तयार गर्ने सम्बन्धी कार्य छिट्टै सम्पन्न गर्ने गरी अगाडि बढाइएको समेत प्रवक्ता निरज गिरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा संगठित संस्थाहरुले बोर्डबाट निर्धारण भए अनुरुपको नीतिगत आधारमा रही प्रिमियम मूल्य निर्धारण गर्नुपर्नेमा समेत जोड दिइएको छ । ‘यही कारणले समेत नेपाल लाइफले हाल बोर्डमा पेश गरेको प्रिमियम मूल्यमा हेरफेर हुनसक्ने तथ्यप्रति सजग हुनका लागि सम्पूर्ण सर्वसाधारण लगानीकर्ताहरुलाई जानकारी गराइन्छ ।’–विज्ञप्तिमा भनिएको छ ।