काठमाण्डौ । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ बाँडफाँड भइसकेको छ। कम्पनीको आईपीओ ९ लाख ६० हजार जनाले १०–१० कित्ताका दरले प्राप्त गरेका छन्। 

यतिबेला आईपीओ प्राप्त गर्ने सेयरधनीमा कम्पनीको आईपीओले कति ओपनिङ रेन्ज पाउला भन्ने कौतुहलताको विषय बनेको छ। आइएमई लाइफको आईपीओले पहिलो कारोबारका लागि न्यूनतम १७६.५३ रुपैयाँदेखि अधिकतम ५२९.५९ रुपैयाँसम्म ओपनिङ रेन्ज पाउने देखिएको छ। 

नेप्सेले जुनसुकै कम्पनीको आईपीओलाई पहिलो कारोबारका लागि सोही कम्पनीको वास्तविक प्रतिसेयर नटेवर्थका आधारमा ओपनिङ रेन्ज तोक्ने गर्दछ। आइएमई लाइफको आर्थिक वर्ष २०७८–७९को वास्तविक प्रतिसेयर नेटवर्थ १७६.५३ रुपैयाँ रहेको छ। यसर्थमा कम्पनीले पहिलो कारोबारका लागि न्यूनतम १७६.५३ रुपैयाँदेखि अधिकतममा नेटवर्थको तीनगुणा अर्थात ५२९.५९ रुपैयाँसम्म ओपनिङ रेन्ज पाउने देखिएको हो। 

कम्पनीले गत असार २१ गतगेदेखि २५ गतेसम्म प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल २३६.९१ रुपैयाँ दरमा आईपीओ जारी गरेको थियो। यसर्थ १० कित्ता आईपीओका लागि लगानीकर्ताको २३६९.१० रुपैयाँ लगानी रहेको छ। 

कम्पनीले १ अर्ब २० करोड रुपैयाँबराबरको १ करोड २० लाख कित्ता सेयर निष्कासन गरेको थियो। त्यसमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकका लागि र ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको थियो। सर्वसाधारण लगानीकर्तालाई बाँकी रहेको १६ लाख कित्ता सेयरमात्रै छुट्याइएको थियो। 

मागभन्दा बढी आवेदन परेका कारण यो कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो। जसमा भाग्यमानी ९ लाख ६० हजारजनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका थिए। 

हाल कम्पनीको चुक्तापुँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ। प्रिमियम मूल्यमा आईपीओ निष्कासनपछि कम्पनीले १ अर्ब २० करोड रुपैयाँ संकलन गरेको छ। आईपीओ जारीपश्चात कम्पनीको चुक्तापुँजी ४ अर्ब रुपैयाँ पुगेको छ। तर पनि बीमा प्राधिकरणले तोकेको ५ अर्ब चुक्तापुँजी पुर्याउन अब कम्पनीले हकप्रद सेयर वा बोनस सेयर जारी गर्नुपर्नेछ।