काठमाण्डौ । प्रिमियर इन्स्योरेन्सले निश्कासन गरेको एफपीओमा तेश्रो दिनसम्म अचाक्ली आवेदन परेको छ । यो कम्पनीले आइतबारदेखि निश्कासन गरेको ६ लाख ६५ हजार ५ सय ६५ कित्ता एफपीओमा तेश्रो दिन मंगलबारसम्म २१ लाख ५० हजार कित्ताका लागि आवेदन परेको हो । 

कुल ५२ करोड ६९ लाख ९२ हजार ४ सय ३५ रुपैयाँ बराबरको एफपीओका लागि तेश्रो दिनसम्म १ अर्ब ७१ करोड रुपैयाँ बराबरको आवेदन परिसकेको छ । 

यो हिसाबले तेश्रा दिनसम्म एफपीओमा मागभन्दा ३.२४ गुणा बढी आवेदन परिसकेको देखिएको छ । 

बिक्री प्रबन्धक एनएमबी क्यापिटलका सीइओ श्रीजेश घिमिरेका अनुसार तेश्रो दिनसम्म मात्रै देशभरबाट ९९ हजार भन्दा बढीले एफपीओ खरीदका लागि आवेदन दिएका छन् । 

कम्पनीको एफपीओमा आवेदन दिने समय बुधबारसम्म रहेको र अन्तिम दिन सार्वजनिक निश्कासनहरुमा अझ बढी आवेदन पर्ने विगतको अभ्यास हेर्दा समेत यो कम्पनीको एफपीओमा थामिनसक्नुु आवेदन पर्ने देखिएको छ । 

दोश्रो बजारमा प्रतिकित्ता १ हजार ३०० भन्दा माथिको दरमा खरीदबिक्री भइरहेको प्रिमियर इन्स्योरेन्सको एफपीओ ७ सय ९९ रुपैयाँमै पाउने अवसरको सदुपयोग गर्ने लगानीकर्ताहरुको संख्या निकै देखिएको छ । यहीकारण समेत लगानीयोग्य रकमको अभाव हुँदा समेत कम्पनीको एफपीओमा उल्लेख्य आवेदन परेको देखिएको छ । 

इन्स्योरेन्स कम्पनीले १०० रुपैयाँ फेस भ्यालूमा ६९९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ७ सय ९९ रुपैयाँको दरले ६ लाख ५९ हजार ५ सय ६५ कित्ता एफपीओ निश्कासन गरेको हो । 

लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ३ हजार २ सय ९० कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको थियो ।  

हाल यो कम्पनीको चुक्तापूँजी ४४ करोड ८५ लाख रुपैयाँ रहेको छ । एफपीओपछि चुक्तापूँजी बढेर साढे ५१ करोडको हाराहारीमा पुुग्नेछ । 

एफपीओ बिक्रीपछि प्रिमियमबाट मात्रै यो कम्पनीले ४६ करोड १० लाख बढी आम्दानी गर्नेछ । यो रकम सञ्चित कोषमा जम्मा हुनेछ । बिमा समितिले निर्जीवन बिमा कम्पनीको न्यूनतम चुक्तापुँजी १ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ । यो हिसाबले यो कम्पनीले आगामी दिनमा प्रिमियमबाट प्राप्त रकमको समेत सदुपयोग गर्दै लगानीकर्तालाई निकै राम्रो बोनस सेयर दिनसक्छ ।