काठमाण्डौ । एनएमबी क्यापिटलले प्रिमियर इन्स्योरेन्सले निश्कासन गरेको ६.५९ लाख कित्ता एफपीओको बाँडफाँड बिहीबार गर्ने भएको छ ।
क्यापिटलका सीइओ श्रीजेश घिमिरेका अनुसार एफपीओको बाँडफाँडका लागि धितोपत्र बोर्डबाट सोमबार स्वीकृति आइसकेको छ । सबै काम सकिएकोले बाँडफाँड बिहीबार बिहान हुनेछ । उनका अनुसार एनएमबी क्यापिटलको काठमाण्डौ, नक्सालस्थित कार्यालय परिसरमा एफपीओ बाँडफाँडको नतिजा प्रस्तुत गरिनेछ ।
प्रिमियर इन्स्योरेन्सले निश्कासन गरेको ६ लाख ६५ हजार ५ सय ६५ कित्ता एफपीओमा १ लाख ८३ हजार ८ सय ४६ वटा आवेदन परेका थिए । कुल ५२ करोड ६९ लाख ९२ हजार ४ सय ३५ रुपैयाँ बराबरको एफपीओका लागि ३ अर्ब २२ करोड ५८ लाख रुपैयाँ बराबरको आवेदन परेको थियो ।
इन्स्योरेन्स कम्पनीले १०० रुपैयाँ फेस भ्यालूमा ६९९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ७ सय ९९ रुपैयाँको दरले एफपीओ बिक्री गरेको हो ।
एफपीओ बिक्रीपछि प्रिमियमबाट मात्रै यो कम्पनीले ४६ करोड १० लाख बढी आम्दानी गर्नेछ । यो रकम सञ्चित कोषमा जम्मा हुनेछ । बिमा समितिले निर्जीवन बिमा कम्पनीको न्यूनतम चुक्तापुँजी १ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ । यो हिसाबले यो कम्पनीले आगामी दिनमा प्रिमियमबाट प्राप्त रकमको समेत सदुपयोग गर्दै लगानीकर्तालाई निकै राम्रो बोनस सेयर दिनसक्छ ।
हाल यो कम्पनीको चुक्तापूँजी ४४ करोड ८५ लाख रुपैयाँ रहेको छ । एफपीओपछि चुक्तापूँजी बढेर साढे ५१ करोडको हाराहारीमा पुुग्नेछ । यो कम्पनीले हालै आफ्ना सेयरधनीलाई १३.५२ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । यो बोनस एफपीओ परेका लगानीकर्ताले समेत पाउनेछन् । बोनसपछि कम्पनीको चुक्तापूँजी बढेर ५८ करोड ४१ लाखको उचाईमा पुग्नेछ।
तपाईलाई कति पर्ला ?
प्रिमियर इन्स्योरेन्सको एफपीओ भरेका धेरैजनाको खालि हात हुने देखिन्छ । धितोपत्र बोर्डको सार्वजनिक निश्कासनमा १० कित्ता अनिवार्य पाउने नयाँ व्यवस्थाअनुसार ६६ हजार ५ सय ५६ आवेदकले मात्र सेयर पाउनेछन् । गोलाप्रथाबाट सेयर बाँडफाँड गर्ने क्रममा १ लाख १७ हजार हाराहारीका आवेदकको हात रित्तै हुनेछ ।
*यसअघिको समाचारमा भूलवश बाँडफाँड मिति बुधबार हुन गएकोमा सच्याइएको छ । सम्पादक
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago