काठमाण्डौ । इन्साइडर ट्रेडिङलाई प्रोत्साहित हुने गरी हकप्रदको सूचना चुहाउने जलविद्युत लगानी तथा विकास कम्पनीलाई सचेत गराएर छाडिएको छ । 

कम्पनीलाई नेपाल स्टक एक्सचेञ्जले आउँदा दिनहरुमा यस्तो गल्ती नगर्ने शर्तमा लिखित रुपमा सचेत गराएर छाडिदिएको हो । 

कम्पनीले स्टक एक्सचेञ्जलाई आलटाले स्पष्टीकरण पेश गरेको थियो ।  

यो कम्पनीले इन्साइडर ट्रेडिङ गरी बजार मूल्य प्रभावित पार्ने काम गरेको समाचारका आधारमा नेपाल स्टक एक्सचेञ्जले उसलाई गत सोमबार स्पष्टीकरण सोधेको थियो । 

कम्पनीले बुधबार नेप्सेमा आफ्नो लिखित स्पष्टीकरण पेश गरेको थियो, जहाँ इन्साइडर ट्रेडिङको बिषयमा आलटाले जवाफ दिइएको थियो । एचआइडिसिएलका अधिकारी नेप्सेमै गएरनियतवश कमजोरी नभएको र यो गल्तीलाई सामान्य मानवीय कमजोरीको रुपमा बुझिदिन आग्रह गरेका थिए । 

शुक्रबारको निर्णय भएको भनेर नेप्सेलाई पत्र पठाए पनि सबै संचालकहरु आइतबार मात्र उपलब्ध भएकोले पूर्ण निर्णय सो दिन भएकोले आफूहरु कारबाहीको भागिदार बन्न नपर्ने एचआइडिसिएलका अधिकारीहरुको जिकिर थियो । 

जवाफ टालटुले देखिएपछि नेप्सेले एचआइडिसिएलका अधिकारीहरुलाई बिहीबार कार्यालयमै बोलाएर मौखिक स्पष्टीकरण समेत लिने काम गरेको थियो । तर, अन्ततः सचेत गराउने सामान्य कारबाही गरेर एचआइडिसिएललाई छाडिएको छ । 

लगानीकर्ताहरुले सूचना चुहावटबाट प्रभावित भएको आइतबारको सो कम्पनीको कारोबार खारेज हुनुपर्ने माग गरेका थिए । तर, उनीहरुको माग सुनिएन । 

यसरी भएको थियो इन्साइडर ट्रेडिङ
यो कम्पनीबाट हकप्रद सम्बन्धी सूचना औपचारिक रुपमा जानकारीमा आउनुअघिदेखि नै चुहिएको थियो । जसका कारण यो कम्पनीको सेयरको भाउ एकाएक बढेको थियो । 

समयअघि नै सतप्रतिशत हकप्रद र ८ प्रतिशतसम्म नगद लाभांश दिने निर्णय हुँदैछ भन्ने सूचना दोश्रो बजारमा व्याप्त थियो । यही सूचनाका आधारमा एनआइडिसीएलको सेयर कारोबारमा राम्रै चलखेल भएको देखिएको छ । 

केही दिनदेखि बजारमा जे–जे सूचना सम्प्रेषण भई यो कम्पनीको सेयरमा इन्साइडर ट्रेडिङ भएको थियो, अघिल्लो सोमबार कम्पनीले तीमध्ये एउटा सूचनालाई पुष्टि गरिदिएको थियो । अर्थात, कम्पनीको संचालक समितिले औपचारिक रुपमा सोमबार मात्रै नेप्सेलाई सतप्रतिशत हकप्रद निश्कासनको निर्णय भएको जानकारी गराएको थियो । 

यो कम्पनीले बजारमा चलेको हल्लालाई सही साबित गर्दै १०० प्रतिशत हकप्रद निश्कासनको औपचारिक जानकारी दिइसकेको छ ।  

औपचारिक निर्णयअघि नै सूचना चुहाएर चलखेल गर्नेलाई अवसर दिएको कम्पनीले शुक्रबार भएको निर्णयलाई समेत लुकाएर सोमबार मात्र सार्वजनिक गरेको छ । यसबाट समेत थप इन्साइडर ट्रेडिङ भएको लगानीकर्ताको बुझाई छ । नेप्सेमार्फत सार्वजनिक हुनुअघि नै शुक्रबारको निर्णय चुहिएका कारण आइतबार यो कम्पनीले सबैभन्दा बढी कारोबार गरेको थियो । मूल्य समेत बढेर निकै माथि पुगेको थियो । गोप्य सूचना चुहाई सेयर मूल्य बढाएर सोमबार केही नाफा बुक गरी बिक्री गर्नेहरुको संख्या समेत निकै ठूलो देखिएको छ । यसरी सर्वसाधारण लगानीकर्तालाई फसाएर एनआइडिसीएलको नाममा यो पटक पनि गिरोहले राम्रै कमाई गरेको स्रोत दाबी गर्छ ।

चलखेलकै कारण आइतबार १७९ सम्म पुगेको कम्पनीको सेयर मूल्य घटेर सोमबार भने १ सय ७२ रुपैयाँमा सीमित बन्न पुगेको थियो । सोमबार यो समाचार तयार पार्दासम्म मूल्य घटेर १६७ सम्म झरेको छ । यसरी हेर्दा यो कम्पनीको सेयर उचालिएर किन्नेहरुले दुई दिनमै प्रतिसेयरमा १२ रुपैयाँ घाटा खाएका छन् ।   

यो कम्पनीको साउन ११ गते९शुक्रबार० बसेको १७० औं संचालक समितिको बैठकले आफ्नो उद्देश्य अनुसार कार्य गर्नका लागि आवश्यक पूँजी व्यवस्था गर्ने योजनाअनुसार हालको चुक्तापूँजीको सतप्रतिशत(१ बराबर १ को अनुपात)मा हकप्रद सेयर जारी गर्ने निर्णय गर्दै सो बिषय प्रस्तावको रुपमा आगामी साधारणसभामा पेश गर्ने निर्णय गरेको छ।

हाल यो कम्पनीको चुक्तापूँजी १० अर्ब रुपैयाँ रहेको छ । सतप्रतिशत हकप्रदपछि बढेर २० अर्बको उचाईमा पुग्नेछ । 

शुक्रबारको निर्णय आइतबार नेप्सेलाई जानकारी नगराई सोमबारसम्म अल्झाइनुले समेत नियतवश निर्णय सार्वजनिक गर्न ढिलाई गरी चलखेल गरिएको लगानीकर्ताहरुको आरोप छ । उनीहरुले यो कम्पनीले गरेको चलखेल र यसमा भएको मिलेमतोको बिषयमा छानबिन गर्न समेत आग्रह गरेका थिए ।