काठमाण्डौ । फाइनान्स, होटल र उत्पादनमूलक समूहसँगै वाणिज्य बैंकप्रति समेत लगानीकर्ताले ध्यान दिन थालेपछि बुधबार पूँजीबजार झिनो अंकले उकालो लागेको छ । 

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक २.६९ अंकले बढेर १७१५.७२ अंकमा पुगेको हो । 

सबैभन्दा धेरै रकमको सेयर कारोबार वाणिज्य बैंक र बिमा कम्पनीहरुको भए पनि मालामाल भने फाइनान्स कम्पनीका सेयरधनी भएका छन् । धेरै कमाउने कम्पनीको सूचिमा फाइनान्स समूह अगाडि छ । 

अघिल्लो साता बजारलाई लिड गरिरहेको बिमाको समूह परिसूचक भने बुधबार पनि दोहोरो अंकले झर्यो । ३७.४२ अंकले ओर्लिएको बिमाको गिरावट यात्रामा जलविद्युत समूह र विकास बैंकले पनि साथ दिए । यी दुई समूहको परिसूचक क्रमशः ४.३२ र ५.७५ अंकले तल झरे । 

बाँकी सबै समूहको सूचकमा हरियो पोतियो । सबैभन्दा धेरै उत्पादनमूलक समूहको सूचक २१.४४ अंकले वृद्धि भयो । होटल समूह १८.४२ अंकले बढ्दा फाइनान्सको सूचक १३.२३ अंकले उक्लियो । मंगलबारसम्म रातो पोतिएको वाणिज्य बैैंकको सूचकमा बुधबार भने ५.०५ अंकको सुधार देखियो । अन्य समूह १.१७ अंकको वृद्धिमा सीमित बन्न पुग्यो । 

'क'वर्गका कम्पनीहरुको सेयर कारोबार बढेका कारण सेन्सेटिभ इण्डेक्समा ०.६५ अंकको वृद्धि देखियो भने फ्लोट इण्डेक्स पनि ०.२१ अंकले उक्लियो । 

बुधबार कुल १ सय ३९ कम्पनीका ४१ लाख ८७ हजार १ सय ७६ कित्ता सेयर १ अर्ब ३३ करोड ६४ लाख २६ हजार रुपैयाँमा किनबेच भयो । 

बुधबार सबैभन्दा धेरै एभरेष्ट बैंकको ७ करोड २८ लाख रुपैयाँको सेयर किनबेच भयो । राष्ट्रिय बिमा कम्पनी लिमीटेडको ४ करोड ९१ लाख र नेपाल इन्भेष्टमेन्ट बैंक लिमीटेडको ४ करोड ७६ लाख रुपैयाँ बराबरको प्रोमोटर सेयर किनबेच भयो । यस्तै, ग्लोबल आइएमई बैंक लिमीटेडको ४ करोड ३२ लाख, सोल्टी होटल लिमीटेडको ३ करोड ८६ लाख, नेपाल बैंक लिमीटेडको ३ करोड २५ लाखको सेयर कारोबार भयो । रुरल माइक्रो फाइनान्स डेभलपमेन्ट सेन्टर लिमीटेड बुधबार पनि उत्कृष्ट कारोबार गर्ने १० को सूचिमा समावेश हुँदै ३ करोड ११ लाखको कारोबार गर्न सफल भयो । यसैगरी, लुम्बिनी जनलर इन्स्योरेन्सले ३ करोड १० लाख, नेशनल लाइफ इन्स्योरेन्सले ३ करोड ५ लाख र नेपाल लाइफ इन्स्योरेन्स २ करोड ९५ लाख बराबरको कारोबार गरे । 

धेरै कमाउनेहरु
बुधबार धेरै कमाउनेहरु उत्कृष्ट १० को सूचिमा फाइनान्स कम्पनीको बोलवाला रह्यो । सबैभन्दा बढी पोखरा फाइनान्स लिमीटेडका लगानीकर्ताले १० प्रतिशतले सम्पत्ति बढाए । त्यसपछि क्रमशः प्रोग्रेसिभ फाइनान्स लिमीटेड, सिनर्जी फाइनान्स लिमीटेड, काबेली विकास बैंक लिमीटेड, बोटलर्स नेपाल(तराईं) लिमीटेड, नमस्ते बित्तीय संस्था लिीमटेडका लगानीकर्ता मालामाल भए । यसैगरी, लुम्बिनी फाइनान्स लिमीटेड, रिलायन्स लोटस फाइनान्स लिमीटेड, हामा मर्चेन्ट एण्ड फाइनान्स लिमीटेड र यति डेभलपमेन्ट बैंक लिमीटेडका लगानीकर्ताले पनि धेरै कमाए । यी अधिकांश कम्पनीको सेयर मूल्यमा ६ प्रतिशत भन्दा बढीको प्रगति देखियो । 

धेरै गुमाउनेहरु
धेरै गुमाउने कम्पनीहरुमा बित्तीय संस्थाहरु बढी देखिए । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार कञ्चन डेभलपमेन्ट बैंक लिमीटेडको प्रोमोटर सेयरधनीले सबैभन्दा धेरै गुमाउनुपर्यो । यसैगरी, मिथिला लघुवित्त विकास बैंक लिमीटेड, आइएलएफसीओ माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेड, एनआइडीसी क्यापिटल मार्केट्स लिमीटेड, एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमीटेडका लगानीकर्ता पनि गुमाउनुपर्दा हिस्स बने ।