काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले शिक्षा क्षेत्रको विकासका लागि फाइलमा नभएर योजनामा लगानी बढाउने बताएका छन्। 

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शनिबार राजधानीमा गरेको कार्यक्रममा अर्थमन्त्री शर्माले पहुँचका भरमा फाइल देखाएर बजेट पार्ने परिपाटीको अन्त्य गरिने बताएका छन्। ‘फाइलमा लगानी गरेर अनुत्पादक भयो, त्यस्तो लगानी गरेर हुँदैन। पहुँचका भरमा एउटाले फाइल ल्याउँछ। यहाँ स्कूल छ भन्छ, अनि पैसा लान्छ। त्यसको अर्थ छैन’, उनले भने, ‘त्यसैले योजनामा, मिसनमा, परिणाममा, भविष्यमा, समयको सुरक्षाका लागि लगानी गर्नुपर्छ।’

शिक्षाले उत्पादन तथा परिणाम दिनुपर्नेमा शर्माले जोड दिए। उनले कतिपय बिना परिणामका ‘फाइल’ मा लगानी भइरहेकोप्रति चिन्तासमेत व्यक्त गरे। ‘हामीले धेरै बाटो त खन्यौँ। तर प्रतिफल कति दिइरहेका छन्, यो बुझ्नुपर्छ’, उनले भने, ‘सडक निर्माण जस्तै प्रतिफल दिने विद्यालयहरुमा लगानी गरौँ।’

मन्त्री शर्माले जनसंख्या र आवश्यकताका आधारमा विद्यालयहरू स्थापना गर्नुपर्नेसमेत बताए। ‘कहाँ–कति जनसंख्याका लागि कस्तो विद्यालयको आवश्यकता हुन्छ, विज्ञको रायअनुसार विद्यालय निर्माण गर्नुपर्छ’, उनले भने, ‘विद्यालय र विश्वविद्यालयहरु राष्ट्रलाई परिणाम दिने खालका हुनुपर्छ।’