काठमाडौँ । साञ्जेन जलविद्युत कम्पनी र रसुवागढी जलविद्युत कम्पनीले आगामी फागुन ११ गतेदेखि साधारण शेयर(आइपिओ) निश्कासन गर्ने भएका छन् ।

रसुवागढी हाइड्रोको साधारण शेयर निष्काशनको बिक्री प्रबन्धकमा यसअघि नै ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ ।

यस्तै, सहायक बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड, सिद्धार्थ क्यापिटल लिमिटेड र एनआइबिएल क्यापिटल लिमिटेड रहेका छन्। 

रसुवागढीले रु एक अर्ब ६४ करोड २१ लाख चार हजार बराबरको एक करोड ६४ लाख २१ हजार कित्ता सीमित आइपिओ जारी गर्न लागेको छ । 

रसुवागढीले पहिलो चरणको साधारण शेयर निष्काशन गरेपछि दोस्रो चरणमा आयोजना प्रभावित रसुवावासीलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत गरी झण्डै रु एक अर्ब ७५ करोड बराबरको साधारण शेयर बिक्री गर्नेछ । 

कम्पनीको लगानी संरचनाअनुसार ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी रहेको छ । रसुवागढीले कूल १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना रसुवा जिल्लामा निर्माण गरिरहेको छ । आयोजनाको काम करिब ६० प्रतिशत सम्पन्न भएको आयोजना प्रमुख कोइरालाले जानकारी दिनुभयो । 

गोरखा भूकम्प र नाकामा भएको अवरोधका कारण केही समय समस्यामा परेको आयोजनाले पछिल्लो दिनमा निर्माण कार्यले गति लिएको छ । हाल सुरुङ खन्ने, बाँधलगायत अन्य पूर्वाधार निर्माणको काम युद्धस्तरमा भइरहेको बताइएको छ ।

कूल रु १३ अर्ब ६८ करोड लागत अनुमान गरिएको उक्त आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३३, नेपाल विद्युत् प्राधिकरणको १८, सर्वसाधारणको १५, आयोजना प्रभावित स्थानीय बासिन्दालाई १०, लगानीकर्ता कर्मचारी सञ्चय कोषका कर्मचारी तथा विद्युत् प्राधिकरण र कम्पनीका कर्मचारीको गरी ३ दशमलव ५ प्रतिशत एवं सञ्चयकर्ताको १९ दशमलव ५ प्रतिशत लगानी रहनेछ । 

यसअघि बोर्डले साञ्जेन जलविद्युत् कम्पनीलाई रु दुई अर्ब ७३ करोड ७५ लाख बराबरको साधारण शेयर जारी गर्ने अनुमति दिइसकेको छ । यस्तै साञ्जेनको नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ । 

दुवै कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी लिमिटेड र रसुवा जिल्लाका स्थानीय निकायका कर्मचारीलाई रु दुई अर्ब ५१ करोड ८१ लाख बराबरको दुई करोड ५१ लाख ८१ हजार कित्ता आइपिओ बिक्री गर्ने तयारी गरेको छ । 

साञ्जेनले रु ८७ करोड ६० लाख बराबरको ८७ लाख ६० हजार कित्ता आइपिओ निष्कासन गर्नेछ । धितोपत्र बोर्डले साञ्जेनलाई गत मंसिर २६ गते र रसुवागढीलाई पुस २० गते निष्कासन गर्न अनुमति दिएको थियो । 

साञ्जेनले ५७ मेगावाट क्षमताको तल्लो र माथिल्लो साञ्जेन गरी दुई आयोजना निर्माण गरिरहेको छ । आयोजनाको लागत रु सात अर्ब बढी रहेको छ । 

माथिल्लो साञ्जेनको काम करिब ७० प्रतिशत सकिएको छ भने तल्लो साञ्जेन ५५ प्रतिशत निर्माण सकिएको छ । दुवै कम्पनीले स्थानीय प्रभावितलाई १० प्रतिशत र आमनेपाली सर्वसाधारणलाई १५ प्रतिशत साधारण शेयर जारी गर्नेछ ।