– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेपालका फाइनान्स कम्पनीहरुमध्ये बेष्ट फाइनान्स पनि एउटा हो। २०५२ सालमा एनआरएनद्वारा स्थापित यो कम्पनीले हाल १६ वटा शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ। 

गत आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीको चुक्तापुँजी ८२ करोड ८९ लाख १४ हजार रुपैयाँ रहेको छ। कम्पनीको रिजर्भमा ६० करोड २३ लाख रुपैयाँ रहेको छ। 

कम्पनीको ईपीएस २४.५६ रुपैयाँ रहेको छ। प्राइस अर्निङ रेसियो २२.३१ गुणा रहेको छ। कम्पनीको बुक भ्यालु १४३.२५ रुपैयाँ रहेको छ। 

तेस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा १५ करोड २६ लाख रुपैयाँ रहेको छ। कम्पनीको दोस्रो बजारमा उच्च मूल्य ६१५ रुपैयाँसम्म पुगेको थियो भने न्यून मूल्य ३१२ रुपैयाँसम्म झरेको थियो। हाल यो कम्पनी ४३ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

प्राविधिक पक्ष

इचिमोकुका आधारमा 

यो कम्पनीको इचिमोकुअन्तर्गत हेर्दा मूल्यरेखा क्लाउड पोजिसनभन्दा माथि गएका छन् (हेर्नुहोस् कालो एरो)।  गत ४ जुलाईमा नै बेस लाइनलाई कन्झर्जन लाइनले तलबाट काटेको छ (हेर्नुहोस् हरियो एरो)। २६ दिन पछाडि चल्ने ल्यागिङ स्पान पोजिसन पनि क्लाउड पोजिसनभन्दा माथि गएको छ। यसले कम्पनीको सेयरमा बुलिस मुमेन्टम चलेको बुझिन्छ।

क्यान्डल स्टिकमा भने डोजी स्टार बनेका कारण अनिणर्यको संकेत गरेको छ।

बोलिंगर, म्याक्डी र आरएसआईको आधारमा 

यो कम्पनीको आवरली चार्टमा बोलिंगर ब्यान्डको अप्पर ब्यान्डलाई मूल्यरेखाले छोएर झरेको देखिन्छ। हाल कम्पनीको मूल्यरेखाले मध्य ब्यान्डमा सपोर्ट लिएको देखिन्छ। यसभन्दा पहिले पनि ३ पटक मध्य ब्यान्डमा सपोर्ट लिएर फर्किएको देखिन्छ। (हेर्नुहोस् कालो एरो) 

म्याक्डीमा पनि आवरली चार्टमा नै बियरिस क्रसओभर बनेको देखिन्छ। हिस्टोग्राम नेगेटिभ र लामा–लामा बनेका कारण कम्पनीको सेयरमूल्यमा सामान्य करेक्सन आउन सक्ने देखिन्छ। आरएसआई ७५ को ओभर बट जोनबाट झरेर ५४ को न्युट्रल जोनमा आएको देखिन्छ।

फिवोनासी सिद्धान्तका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो। जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपात २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्।

यदि यो कम्पनीको भाउ घटेमा ०.२३ प्रतिशतको टेवामा ४४६ रुपैयाँसम्म, ०.३८ प्रतिशतको टेवामा ४३८ रुपैयाँसम्म, ०.५ प्रतिशतको टेवामा ४३० रुपैयाँस्म्म तथा ०.६१ प्रतिशतको टेवामा ४२२ रुपैयाँसम्म आउन सक्ने देखिन्छ। 

फियर एन्ड ग्रिड मिटरका आधारमा 

फियर एन्ड ग्रिड मिटरका आधारमा यो कम्पनीको सेयरमा बुलिस सेन्टिमेन्ट देखिन्छ। हाल यो कम्पनीको सेयरको फियर एन्ड ग्रिड मिटर ६२ मा रहेको छ। यस्तो मिटर २० भन्दा तल भएमा लगानीकर्ता अत्याधिक डराएको र ८० भन्दा माथि भएमा अत्याधिक हौसिएको बुझिन्छ। हाल यो कम्पनीको सेयर यो मिटरका आधारमा आज बुलिस सेन्टिमेन्टमा देखिन्छ। 

निष्कर्ष

बेष्ट फाइनान्स कम्पनी आधारभूत रुपमा पनि बलियो नै देखिन्छ। कम्पनीको ईपीएस २४.५६ रुपैयाँ हुनु र प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ हुुनु यो कम्पनीको सबल पक्ष हो। 

अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासमा एनपीएल १४.७३ प्रतिशत रहेकोमा गत आर्थिक वर्षको सोही अवधिमा घटेर २.२४ प्रतिशतमा झारेको छ। यो कम्पनीको राम्रो पक्ष हो। तर, चौथो त्रैमासको रिपोर्ट कस्तो आउँछ त्यो भने हेर्न बाँकी नै छ। 

यो कम्पनीको सेयर अल्पकालमा केही करेक्सन हुँदै दीर्घकालमा भने केही बढोत्तरी हुन सक्ने देखिन्छ।