– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । नेपालमा सञ्चालित लघुवित्त वित्तीय संस्थामध्ये डिप्रोक्स पनि एउटा हो। यो लघुवित्तले २०५७ साल पुस १९ मा राष्ट्र बैंकबाट लघुवित्त कारोबार गर्ने अनुमति पाएको थियो। यसका मुख्य प्रमोटरहरुमा नबि बैंक, नेपाल बैंक, कृषि विकास बैंक र लुम्बिनी विकास बैंक तथा विभिन्न गैरसरकारी संस्थाहरु छन्। डिप्रोक्समा संस्थापक समूहको ५१ प्रतिशत र ४९ प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व रहेको छ। 

आधारभूत पक्ष

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म डिप्रोक्सको चुक्तापुँजी १ अर्ब ३८ करोड रुपैयाँ र जगेडा कोषमा १ अर्ब ९० करोड रुपैयाँ रहेको छ। यो लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) ३१.०५ रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा यो लघुवित्तको ईपीएस ४८.२१ रुपैयाँ रहेको थियो। यस हिसाबले संस्थाको ईपीएसमा करिब ३६ प्रतिशतले गिरावट आएको छ। संस्थाको बुक भ्यालु २३७ रुपैयाँ रहेको छ। यो भनेको अघिल्लो आर्थिक वर्षको तुलनामा २० प्रतिशतले बढी हो। 

संस्थाको रिटर्न अन इक्विटी १३ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षमा भने संस्थाको रिटर्न अन इक्विटी २४ प्रतिशतबराबर थियो। यस हिसाबले रिटर्न अन इक्विटीमा करिब ४६ प्रतिशतको गिरावट आएको छ। 

डिप्रोक्सको खराब कर्जा अनुपात (एनपीएल) भने ३.७५ प्रतिशत रहेको छ। संस्थाको १० वर्षको वार्षिक औसत लाभांश ३५ प्रतिशत रहेको छ। 

प्राविधिक पक्ष 

फियर एन्ड ग्रिड मिटरका आधारमा 

फियर एन्ड ग्रिड मिटरका आधारमा यो संस्थाको सेयरभाउ हाल स्ट्रङ बियरिस सेन्टिमेन्टमा चलेको छ। संस्थाको ५२ साताको उच्च मूल्य प्रतिकित्ता १५२६ रुपैयाँ र न्यून मूल्य ६१६ रुपैयाँ रहेको छ। हाल दोस्रो बजारमा संस्थाको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ६१६ रुपैयाँ रहेको छ। 

बोलिंगर, म्याक्डी र आरएसआईका आधारमा 

बोलिंगर ब्यान्डका आधारमा यो संस्थाको सेयरभाउ जनवरी महिनामा नै मध्य ब्यान्ड छोडेर तल झरेको देखिन्छ। हाल तल्लो ब्यान्डमा चलेको अवस्था रहेको छ। म्याक्डीमा बियरिस क्रसओभर हाससम्म पनि भ्यालिड नै रहेको छ। हिस्टोग्राम नेगेटिभ तर फिक्का हुँदै गएका छन्। यसले यो कम्पनीको सेयरभाउ घट्ने क्रम रोकिएको मान्न सकिन्छ। 

आरएसआई ओभर सोल्ड जोन  ३० को तहम रहेको छ। समग्रमा तीनवटै इन्डिकेटरमार्फत हेर्दा संस्थाको सेयरभाउ घट्ने क्रम रोकिँदै गएको बुझ्न सकिन्छ। 

पिभट विश्लेषणका आधारमा

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– ६४५
  • प्रतिरोध २– ६६५
  • प्रतिरोध ३– ६७५

पिभट प्वइन्टः ६३५

घटेमा सपोर्ट 

  • सपोर्ट १– ६१५
  • सपोर्ट २– ६०५
  • सपोर्ट ३– ५८५

निष्कर्ष

आधारभूत रुपमा डिप्रोक्स लघुवित्त बलियो नै रहेको देखिन्छ। संस्थाको चुक्तापुँजीभन्दा बढी रिजर्भ रहेको छ। तर, अघिल्लो आर्थिक वर्षको तुलनामा संस्थाको ईपीएस र रिटर्न अन इक्विटी घटेको छ भने खराब कर्जा बढेको देखिन्छ। संस्थाको पुँजी बढ्दै जाँदा ईपीएस पनि घटेको छ। 

प्राविधिक रुपमा डिप्रोक्स लघुवित्तको सेयरभाउमा हाल फियर एन्ड ग्रिड मिटरमा स्ट्रङ बियरिस सेन्टिमेन्टमा चलेको छ। संस्थाको सेयरभाउ करिब ३ वर्षपहिले २०२० को मार्च महिनामा पनि अहिलेकै मूल्यमा आएको थियो। यस हिसाबले संस्थाको सेयरभाउ ३ वर्षयताकै न्यून  मूल्यमा हाल दोस्रो बजारमा आएको देखिन्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।