काठमाण्डौ । बजार बुधबार पनि घटेको छ । यो दिन नेप्से परिसूचक १.४७ अंकले घट्यो भने कारोबार रकम १६ करोड ९२ लाखमा सीमित हुन पुग्यो ।

बजार सुधारका लागि कुनै पनि निकायबाट प्रयास नहुँदा र बामपन्थी सरकारको कर तथा समग्र आर्थिक नीतिप्रति लगानीकर्ता विश्वस्त हुन नसक्दा बजारले अपेक्षित गति समात्न नसकेको हो ।

बजारको बिषयमा अर्थमन्त्रीले दिने गरेका विवादास्पद अभिव्यक्ति, हकप्रद र बोनस सेयरको आधार मूल्यमै लाभकर लगाउने स्थगित सर्कुलरको बिषयमा बढेको अन्यौल, बैंक तथा बित्तीय संस्थाहरुले बोनस सेयरको साटो नगद लाभांशलाई मात्र यो वर्ष जोड दिन्छन् भन्ने प्रचारबाजी लगायतका कारण उठ्न खोजेको लगानीकर्ताको मनोबल समेत फेरि गिर्न थालेको हो । 

बजारमा निकै ठूलो प्रभाव छाड्दै आएका मारवाडी समुदायका ठूला लगानीकर्ता सरकारको कर नीतिप्रति आश्वस्त छैनन् । बजारमा गरिएको लगानीको सुरक्षाको ग्यारेण्टी नहुने हो कि, सम्पत्ति शुद्धिकरण वा यस्तै छडी लगाएर लगानीकर्तालाई हतोत्साही बनाउने नीति आउने हो कि भन्नेजस्ता अन्यौलले समेत बजारमा ठूला लगानीकर्ता अन्यौलरहित भई सक्रिय हुन सकेका छैनन् । 

यो बीचमा ठूला कारणबिना नै बजार घटाउने खेलमा केही गिरोहको सक्रियता घटेको छैन । केही समयसम्म नियामकहरुले निगरानी बढाएपछि तर्सिएका त्यस्ता गिरोह बजार बढ्ने भयले पुनः सक्रिय भइरहेका छन् । उनीहरुले योजनाबद्ध ढंगले खरीदबिक्रीको आफ्नै रणनीति बनाएर बजार घटाइरहेका आरोप समेत लाग्न थालेको छ । सोझा लगानीकर्तालाई नै अत्यासमा पार्ने गरी भइरहेको यस्तो खेलप्रति नियामक कठोर बन्नुपर्ने माग उठे पनि ती निकायहरुको केही समयसम्मको सक्रियता एकाएक सेलाएको छ । 

पछिल्लो समय बजारलाई कारोबारले समेत साथ दिन छाडेको देखिएको छ । ४० करोड माथि पुगिसकेको कारोबार नाटकीय ढंगले घटेर १७ १८ करोडको हाराहारीमा आइपुगेको छ । यसले बजारलाई अझै प्यानिक बनाउनसक्ने डर समेत देखिएको छ । 

अनेकन हल्ला, गलत टिकाटिप्पणी, सरकारको बजारप्रतिको गलत रबैयाकै कारण सेयर खरीद गर्ने समयमा समेत लगानीकर्ताले बिक्रीको हतारो गरेका छन् । बैंक तथा बित्तीय संस्थाहरुलाई ब्याजदर घटाउन बाध्य पार्न नसक्ने नियामकका कारण लगानीकर्तामा छाएको निराशा अझै बढेको छ । 

बुधबार के-के भयो ?
यो दिन नेप्से परिसूचक ११८२.४२ विन्दूमा सीमित हुन पुग्यो । ‘क’ वर्गका कम्पनीमा बिक्री चाप देखिँदा सेन्सेटिभ इण्डेक्स ०.३९ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट  इण्डेक्समा ०.०९ अंकको गिरावट देखियो । 

यो दिन जलविद्युत, बित्त र उत्पादनमूलक समूहमा बढोत्तरी भयो । जलविद्युत समूह ९.६१ अंकले बढ्यो भने बित्त समूहमा १.१९ अंकको वृद्धि भयो । उत्पादनमूलक समूहको उपसूचक २.२  अंकले बढ्यो । 

बाँकी सबै समूहको उपसूचकमा रातो पोतियो । यो दिन बैंकिंग समूह ०.७४ अंकले घट्यो भने होटल समूह ०.९९ अंक, विकास बैंक समूह ०.४६ अंक, निर्जीवन बिमा समूह ७.७९ अंक, अन्य समूह २.१३ अंक, जीवन बिमा समूह ५६.६ अंक र माइक्रोफाइनान्स समूह ०.३८ अंकले घटे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५३ कम्पनीका ६ लाख ६३ हजार ३ सय ९० कित्ता सेयर १६ करोड ९२ लाख ९७ हजार ६ सय १५ रुपैयाँमा किनबेच भएको छ । 

स्वावलम्बन लघुवित्त संस्थाले सबैभन्दा धेरै १ करोड ४६ लाख बढीको कारोबार गर्यो । सिभिल बैंकले १ करोड १८ लाख बढीको कारोबार गरेको यो दिन इन्भेष्टमेन्ट बैंकले ८७ लाख, बैंक अफ काठमाण्डूले ६३ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ६३ लाख, एनएमबी  बैंकले ५१ लाख, सानिमा बैंकले ४९ लाख बढीको कारोबार गरे । नवील बैंकको ४७ लाख बढीको संस्थापक सेयर किनबेच भएको यो दिन प्रभू इन्स्योरेन्सले ४६ लाख र ग्लोबल आइएमई बैंकले ४५ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन गोर्खाज फाइनान्स र कृषि विकास बैंकका लगानीकर्ताले धेरै कमाए । गोर्खाज फाइनान्सको सेयर मूल्य ३.८१ प्रतिशतले बढ्यो भने कृषि विकास बैंकको सेयर मूल्य ३.३० प्रतिशतले वृद्धि भयो । सहयोगी विकास बैंकका लगानीकर्ताले ३.१३ प्रतिशतले सम्पत्ति बढाए ।

यो दिन वल्र्ड मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स लिमीटेडका सेयरधनीले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य ४ प्रतिशतले घट्यो ।