काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुरानो वेबसाइटमा फेरि समस्या देखिएको छ। 

हिजो सेयर बजार बन्द भएदेखि नेप्सेको पुरानो वेबसाइट पनि नचलेको हो। पुरानो वेबसाइटमा ‘रिफ्युज टु कनेक्ट’ भनेर देखाइरहेको छ। 

पुरानो वेबसाइट नचल्दा महत्वपूर्ण सूचना तथा डाटा खोज्न लगानीकर्ताहरुलाई समस्या भइरहेको छ। नयाँ वेबसाइट सूचना तथा डाटा पूर्ण रुपमा नरहेको उनीहरुको गुनासो छ। 

केही दिनअघि पनि नेप्सेको पुरानो वेबसाइट बन्द भएको थियो। त्यतिबेला झन्डै २ दिनपछि पुरानो वेबसाइट खुलेको थियो। 

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले हाल गुगल क्रोम ब्राउजरमा नेप्सेको पुरानो वेबसाइट नचलेको बताए। फायर फक्स ब्राउजरमा भने पुरानो वेबसाइट चल्ने उनले जानकारी दिए।