काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमीटेडबाट घोषित बम्पर लाभांशको लोभमा सेयर खरीदमा मरिहत्ते गरेका लगानीकर्ता अन्ततः ठगिएका छन् । 

यो कम्पनीले यसअघि घोषणा गरेको बोनस सेयर र नगद लाभांश नै नेपाल राष्ट्रबैंकले अस्वीकृत गरिदिएपछि लगानीकर्ता हिस्स बनेका हुन् ।

यो कम्पनीको संचालक समितिले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट लगानीकर्तालाई १८ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । 

कम्पनीले लाभांशको डबल अफर सार्वजनिक गरेपछि लगानीकर्ताले यो कम्पनीको सेयर तँछाडमछाड गर्दै खरीद गरेका थिए । यहीकारण छिमेक लघुवित्तको विगत केही दिनदेखिको कारोबार बजारमा उच्च कम्पनीमध्येमै पर्दै आएको थियो । 

तर, अन्ततः कम्पनीबाट आकर्षक लाभांशको लोभमा सेयरमा लगानी गर्नेहरु जिल्लिनु परेको छ । 

कम्पनीले नेप्सेलाई एक पत्र लेख्दै संचालक समितिको २१२ औं बैठकले बोनस सेयर र नगद लाभांश वितरणको प्रस्ताव केन्द्रीय बैंकमा पठाइएको, तर राष्ट्रबैंकले पुस १९ गते एक पत्र पठाउँदै दुवै लाभांश अस्वीकृत गरेको बताएको छ । 

घोषित बोनस सेयर र नगद लाभांश बापत प्रस्ताव गरिएको रकम सञ्चित कोषमा कायम रहने गरी आर्थिक वर्ष २०७४/७५ को विवरणहरु वार्षिक साधारणसभा प्रयोजनका लागि प्रकाशन गर्न मात्र स्वीकृति दिइएको बताइएको छ ।