काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल बुझाउने म्याद फेरि थपेको छ। 

प्राधिकरणले आज एक सूचना प्रकाशित गर्दै डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल बुझाउने म्याद फेरि थप गरेको हो। अब यस्तो बक्यौता महसुल मंसिर ५ गतेसम्म बुझाउन सनिे प्राधिकरणले जनाएको छ। 

यसअघि प्राधिकरणले बक्यौता महसुल असोज ३० गतेसम्म बुझाउन सकिने गरी पहिलोपटक म्याद थप गरेको थियो। तर, चाडपर्व र उपभोक्ताको समयसीमा अपर्याप्त भएको गुनासोका आधारमा मद थप गरिएको प्राधिकरणले स्पष्ट पारेको छ।

यसअघि गत भदौ १७ गते प्राधिकरणले १५ दिने सूचना जारी गर्दै भदौ १७ दिनभित्र विगतमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिएबापत तिर्न बाँकी महसुल बुझाउन ताकेता गरेको थियो। 

त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहालले डेडिकेटेड फिडर र ट्रंक लाइनको महसुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेको र यसबारे निक्र्यौल नभएसम्म उद्योगहरुको विद्युत आप्रर्ति नगर्न प्राधिकरणलाई निर्देशन दिएका थिए। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा महासंघका पदाधिकारीरसहित प्रधानमन्त्री निवास बालुवाटर पुगेको प्रतिनिधिमण्डसँगको भेटेपछि प्रधानमन्त्री दाहालले यस्तो निर्देशन दिएका थिए। 

प्रधानमन्त्रीको निर्देशनपछि प्राधिकरणले उक्त बक्यौता रकम बुझाउने म्याद थप गरेको थियो। 

विद्युत् महसुल संकलन विनियमावली, २०७८बमोजिम सम्बन्धित वितरण केन्द्रहरुबाट बक्यौता महसुल बुझाउन पटक–पटक पत्राचार गरिएकोमा हालसम्म पनि बक्यौता महसुल नबुझाएको प्राधिकरणले जनाएको छ।