काठमाण्डौ । संसारका विकसित देशहरुको सेयर बजार घटेपछि खरीद गर्नेहरुको कमी हुन्न । घटेको बेला किन्ने र बढेको बेला बेच्ने काम सफल लगानीकर्ताहरुले गर्छन् । तर, नेपालको बजारमा भने ठीक उल्टो  प्रवृति  छ । अर्थात, यहाँका अधिकांश लगानीकर्ता विश्वमा चलेको भन्दा उल्टो बाटो हिँड्ने गर्छन् । अथवा, बजार घटेको बेला आत्तिएर बेच्ने  र बढेको बेला किन्ने काम गर्छन् । अघिल्लो साता निकै दिन बढेको बजारमा यही प्रवृति हाबी भयो । केही दिन बजार बढ्दा खरीदका लागि हारालुछ लगानीकर्ता, जब घट्न थाल्यो, तब फेरि बिक्रीको हतारोमा देखिएका छन् । लगानीकर्ताको यही उल्टो गतिका कारण सोमबार पनि बजार परिसूचक ८.१ अंकले घटेको छ ।

बजार फेरि घटाउन सर्टटर्म कारोबारीको कब्जामा परेको छ भने लङटर्म लगानीकर्ताले लगानीमा मन नदिंदा बजार घट्न दवाब परेको छ ।

यिनै  कारण आइतबार  दोहोरो अंकले घटेको बजारमा सोमबार पनि गिरावटको यात्रा जारी भएको हो ।

यो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स २ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.६७ अंकले घट्यो ।

उत्पादनमूलक समूहमा २४.६८ अंकको बढोत्तरी भएको यो दिन माइक्रोफाइनान्स समूह १३.३१ अंकले बढ्यो ।

बाँकी सबै समूहको सूचक घट्यो । बैंकिङ समूह ९.६३ अंकले घट्यो भने जीवन बिमा समूह २०.१८ अंक, निर्जीवन बिमा समूह ५८.५९ अंक, होटल समूह ४५.९५ अंक, विकास बैंक समूह १०.२८ अंक, जलविद्युत समूह १०.७५ अंक, बित्त समूह ३.३२ अंक र अन्य समूह ३.६७ अंकले घट्यो ।

धेरै कारोबार गर्ने कम्पनी
आइतबारको तुलनामा सोमबार कारोबार  रकम पनि घटेको  छ । यो दिन बजारमा १ सय ६२ कम्पनीका ११ लाख ५९ हजार २ सय ७२ कित्ता सेयर २७ करोड ७४ लाख २२ हजार ९ सय ६७ रुपैयाँमा किनबेच भएको छ ।

यो दिन हाथ्वे फाइनान्सको २ करोड ९८ लाख बढीको संस्थापक सेयर किनबेच भएको छ । यस्तै, ग्लोबल आइएमई बैंकले २ करोड ७ लाख, एनआइसी एशियाले १ करोड ४४ लाख, कुमारी बैंकले १ करोड, एनएमबी बैंकले ९८ लाख, प्राइम कमर्सियल बैंकले ८६ लाख, प्रभू बैंकले ८६ लाख, नवील बैंकले ६९ लाख बढीको कारोबार गरे । सिर्जना फाइनान्सको ६९ लाख बढीको कारोबार भएको बजारमा नेपाल लाइफ इन्स्योरेन्सले ६८ लाख बढीको कारोबार गर्यो ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सपोर्ट माइक्रोफाइनानसका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ९.६३ प्रतिशतले बढ्यो । आरम्भ माइक्रोफाइनान्सका लगानीकर्ताले ८.०८ प्रतिशतले सम्पत्ति बढाए भने मेरो माइक्रोफाइनान्सको मूल्य ८ प्रतिशतको हाराहारीमा बढ्यो ।

यो  दिन ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य ९.५२ प्रतिशतले घट्यो ।