काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको पूर्ण परीक्षणको पूर्व सन्ध्यामा नेप्से प्रमुखलाई पदबाट हटाई बजारमा अन्यौल सिर्जना गरिएको र यसले आगामी दिनमा बजार घटाउनसक्ने विश्लेषण गर्दै सेयर बिक्रीको चाप देखिएको छ । यही समयमा मौद्रिक नीतिमा सेयर धितोकर्जाको सीमा नबढाउने व्यवस्था हुने, बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने बिषयलाई समेत मौद्रिक नीतिले नसमेट्ने खबरले समेत लगानीकर्ताको मनोबल गिराएको छ । यस्तै, आर्थिक वर्षको अन्ततिर मार्जिन कलको समस्या समेत उस्तै छ । सेयर बेचेरै भए पनि ब्याज तिर्नतर्फ लगानीकर्ता लाग्दा समेत बजार निरन्तर घटिरहेको हो । 

यही बेला प्राथमिक बजारमा सेयरको बाढी आएको छ । दोश्रो बजारभन्दा सुरक्षित प्राथमिक बजारमा लगानी गर्न कतिपय लगानीकर्ता त्यसतर्फ लाग्दा समेत बजार घटिरहेको छ । 

माथि उल्लिखित समस्याहरुका कारण सोमबार बजारमा दोहोरो अंकको गिरावट आएको छ । यो दिन नेप्से परिसूचक १७.९६ अंकले घटेर १२०६.४३ को विन्दूमा समेटिन पुगेको हो । 

‘क’ वर्गका कम्पनीहरुमा बिक्री चाप देखिएकोले सेन्सेटिभ इण्डेक्स ३.८ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.३३ अंकको गिरावट देखिएको छ । 

यो दिन व्यापार समूहमा ०.२५ अंक तथा उत्पादनमूलक समूहमा ७.४३ अंकको बढोत्तरी भए पनि बाँकी सबै समूहको सूचकमा रातो पोतिएको छ । 

बैंकिङ समूह १६.४२ अंकले घटेको यो दिन होटल समूह २२.३२ अंक, विकास बैंक समूह १८.०६ अंक, जलविद्युत समूह २२.१ अंक, बित्त समूह ४.५१ अंक, बिमा समूह १३०.४२ अंक, माइक्रोफाइनान्स समूह २१.८९ अंक तथा अन्य समूह ५.२६ अंकले घटेका छन् । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन आइतबारको तुलनामा कारोबार रकम पनि केही कम भएको छ । यो दिन बजारमा १ सय ६७ कम्पनीका १० लाख ९७ हजार ६७ कित्ता सेयर ४१ करोड ८ लाख ३४ हजार ८ सय ७७ रुपैयाँमा किनबेच भएको छ । 

यो दिन एभरेष्ट इन्स्योरेन्सले मात्रै १४ करोड ८० लाख बढीको कारोबार गर्यो । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड २९ लाख, नवील बैंकले १ करोड १ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ९० लाख बढीको कारोबार गरे । ग्रामीण विकास बैंकको ८६ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा ओम डेभलपमेन्ट बैंकले ८५ लाख, प्राइम लाइफ इन्स्योरेन्सले ७४ लाख, नेशनल लाइफ इन्स्योरेन्सले ७० लाख, सनराइज बैंकले पनि ७० लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा कन्काई विकास बैंकका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ४.६९ प्रतिशतले वृद्धि भयो । यस्तै, एनआइबिएल प्रगति फण्डको मूल्य पनि ४.५२ प्रतिशतले बढ्यो । 

यो दिन साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ६.६६ प्रतिशतले घट्यो ।