काठमाण्डौ । पछिल्लो समय दिग्गज सोसल मिडिया फेसबुकलाई पछिल्लो समय टिकटक र युट्युबजस्ता प्लेटफर्मले कडा टक्कर दिइरहेका छन्। जसका कारण आगामी दिनमा फेसबुकको राजस्वमा नराम्रो असर पर्न सक्ने देखिएको छ।

कम्पनीले पनि यो कुरालाई स्वीकार गरेको छ। जसका कारण बुधबार फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्म इंककको सेयरभाउ २० प्रतिशतले घटेको छ।

मेटाले यो वर्षको पहिलो त्रैमासमा कम्पनीको प्रदर्शन अनुमानभन्दा कम हुन सक्ने जनाएको छ। कम्पनीले एप्पलले आफ्नो अपरेटिङ सिस्टममा गोपनीयता परिवर्तन गरेसँगै फेसबुक र इन्स्टाग्राममा ब्रान्डहरुलाई विज्ञापन गर्न गाह्रो भइरहेको छ। यससँगै सप्लाई चेनको चुनौतीले पनि कम्पनीको कठिनाइ बढाएको छ।

यो १८ वर्ष पुरानो कम्पनीले टिकटक र युट्युबबाट पनि कडा चुनौती सामना गरिरहेको छ। धेरै संख्यामा प्रयोगकर्ता यी प्लेटफर्महरुमा सिफ्ट हुँदैछन्। यसले आगामी त्रैमासमा फेसबुकको राजस्वमा नराम्रो असर पार्न सक्छ।

गत वर्षको चौथो त्रैमासिकमा फेसबुकका मासिक सक्रिय प्रयोगकर्ता २ अर्ब ९१ करोड थिए। अघिल्लो त्रैमासिकको तुलनामा यो संख्यामा कुनै वृद्धि भएको छैन।

मेटाका प्रमुख वित्तीय अधिकारी डेभ वेहनरले बुधबार एक सम्मेलनमा आगामी त्रैमासिकमा कम्पनीको राजस्व अपेक्षितभन्दा कम हुन सक्ने बताएका थिए। जसका कारण कम्पनीको सेयरभाउ २० प्रतिशतले घट्यो र मार्केट क्याप पनि २०० अर्ब डलरले घटेको छ। 

मेटाले पहिलो त्रैमासिकको आम्दानी २७ देखि २९ अर्ब डलर हुन सक्ने अनुमान गरेको छ। जब कि विश्लेषकहरुको अनुमानमा आम्दानी ३०.१५अर्ब डलर रहनेछ। –एजेन्सी