काठमाण्डौ । ट्विटरपछि अब फेसबुक र इन्स्टाग्रामले पनि ब्लु टिक भेरिफिकेसनका लागि पैसा लिने भएको छ । 

मेटाका संस्थापक मार्क जुकरबर्गले आइतवार राति फेसबुक पोस्टबाट सदस्यता सेवा सुरु भएको जानकारी दिए।

जुकरबर्गले लेखेका छन्, ‘यो हप्ता हामी मेटा भेरिफाइड सेवा सुरु गर्दैछौँ । यो सदस्यता सेवा हो। यसमा, तपाईंले सरकारी परिचयपत्रमार्फत निलो टिक प्राप्त गर्नुहुनेछ र आफ्नो खाता प्रमाणीकरण गर्न सक्षम हुनुहुनेछ। खाता अतिरिक्त सुरक्षा प्राप्त गर्न सक्षम हुनेछ। यो नयाँ सेवा प्रामाणिकता र सुरक्षा बढाउनको लागि हो।’

जुकरबर्गले भने, ‘हामी यही हप्ता अस्ट्रेलिया र न्यूजिल्याण्डमा यो सेवा सुरु गर्नेछौं। यसपछि छिट्टै अन्य देशमा पनि यसको प्रयोग हुनेछ । यसका लागि प्रयोगकर्ताले वेबका लागि प्रति महिना ११.९९ डलर अर्थात् करिब १००० रुपैयाँ र आईओएस प्रयोगकर्ताका लागि १४.९९ डलर अर्थात् १२ सय रुपैयाँभन्दा बढी तिर्नुपर्नेछ ।’

यो सेवा भारत, नेपाल जस्ता देशमा कहिलेदेखि लागू हुने भन्ने बारे जानकारी भने खुलाइएको छैन ।