काठमाण्डौ । फेस्टिभ ज्वरोले सेयर बजार ग्रसित हुन थालेको छ । बजारमा बिक्रीको चाप बढेको छ भने खरीद गर्नेहरु खासै देखिएका छैनन् । दशैंअगाडिका दिनहरुमा बजारमा अझै धेरै मन्दी आउनसक्छ ।

बुधबार बजार परिसूचक(नेप्से) ३.८९ अंकले घटेको छ । कारोबार रकम पनि घटेर ५४ करोडमा झरेको छ । परिसूचक र कारोबार रकम एकसाथ घट्नु बजारको भविष्यका लागि राम्रो संकेत मानिदैन । 

बुधबार ५ वटा समूहमा रातो पोतिएको छ भने बाँकी ३ समूहको सूचक बढेको छ । 

बैकिंग समूह ५.७२, बिमा समूह २१.१२ अंक, होटल समूह ७.४९, विकास बैंक ६.८४, जलविद्युत समूह ४.०५ अंकले घटे । टेडिंग समूहमा २२.८, बित्त समूहमा १.१५ र अन्य समूहमा ६.३६ अंकको बढोत्तरी देखियो । 

यो दिन 'क' वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.७९ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.३८ अंकको गिरावट आयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५८ कम्पनीका १० लाख १७ हजार ५ सय ५८ कित्ता सेयर ५४ करोड २४ लाख ४४ हजार ७ सय ९० रुपैयाँमा किनबेच भयो । 

यो दिन नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड बराबरको संस्थापक सेयर किनबेच भयो । सानिमा बैंकले ४ करोड १९ लाख, एभरेष्ट बैंकले २ करोड ७५ लाख, इन्भेष्टमेन्ट बैंकले १ करोड ९२ लाख, विशाल बजार कम्पनीले १ करोड ७२ लाख बढीको कारोबार गरे । यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ५७ लाख बढीको साधारण सेयर समेत किनबेच भयो । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान वाणिज्य बैंक, २ स्थान बिमा कम्पनी र बाँकी दुुई स्थान अन्य कम्पनीले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
विगत केही दिनदेखि कमाईमा नेतृत्व गर्दै आएको विशाल बजार कम्पनीले बुधबार पनि सबैभन्दा धेरै कमायो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । यस्तै, पूर्णिमा विकास बैंकका सेयरधनीले समेत ७ प्रतिशतको हाराहारीमा सम्पत्तिको मूल्य बढाए । 

यो दिन कुुबेर मर्चेन्ट एण्ड फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ९ प्रतिशतको हाराहारीमा घट्यो ।