काठमाण्डौ । बुधबार एकैदिन ९२ अंकले बढेको बजार आज साताको अन्तिम कारोबार दिन २९ अंकले घटेर बन्द भयो ।

आज बजारमा दिनभर नै उच्च उतारचढाव देखियो । आज बजार पिभट् प्वाइन्टको तेस्रो प्रतिरोध १८८१ मा प्रतिरोध लिएर तल झरेको छ ।  

हिजो बुलिस मारुबुजु क्याण्डल बनेको बजारमा आज वियरिस मारुबुजु क्याण्डल बनेको छ । प्राविधिक रुपमा आजको बजारलाई हेर्दा मूल्य रेखाले बोलिङ्गर ब्याण्डको अप्पर ब्याण्डलाई छोएर तल झरेको छ । 

अब बजारले बोलिङ्गरकै मध्यब्याण्डमा सपोर्ट लिनसक्छ । त्यो भनेको करिव १९०० को विन्दु हुन जान्छ ।(हेर्नुहोस तस्विरमा कालो एरो )

यसैगरी, म्याक्डीमार्फत हेर्दा हिजो बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम सकारात्मक नै रहेका छन् । 

आरएसआईमार्फत हेर्दा आज बजार आरएसआईको विन्दु ५७ को तहबाट तल झरेर ५२  को न्यूट्रल जोनमा बन्द भएको छ । समग्रमा तीनवटै इन्डिकेटरमार्फत हेर्दा आज बजारमा करेक्सन भएको देखिन्छ । 

आज बजारमा कारोबारको पहिलो आवरमा लगानीकर्ता ‘फोमोमा’ फसेको  देखिन्छ ।  फोमो भनेको ‘फियर अफ मिसिङ आउट’ अर्थात बुल छुट्ने डरले हतार हतारमा सेयर किन्नु हो । यस्तो अवस्थामा लगानीकर्ताको कारोबारको पहिलो घण्टामा बढेर सेयर खरिद गरेका हुन्छन्, तर बिस्तारै बजार घट्दै गएर अन्तमा बजार घटेर नै बन्द हुन्छ । हिजो एकैपटक ९२ अंकले बजार बढेपछि केही लगानीकर्ता आज दोस्रो बजारमा आफू छुट्ने डरले उच्च विन्दुमा सेयर खरीद गरे  ।