काठमाण्डौ । जैविक फोहरको व्यवस्थापन गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले सुरु गर्न लागेको बायोग्यास उत्पादनको तयारी अन्तिम चरणमा पुगेको छ ।   

भारतबाट ल्याउन लागिएको बायोग्यास उत्पादन गर्ने प्रविधि आइपुगेको केही दिनमा बायोग्यास निकाल्न सुरु गरिने महानगरपालिका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले जानकारी दिए ।मुलुकलाई आगामी दुई वर्षभित्र विद्युत्भार कटौती मुक्त बनाउने योजनाअनुरुप महानगरपालिकाले यस्तो कार्यक्रम अघि सार्न लागेको तामाङको भनाइ छ । 

युरोपेली सङ्घ र महानगरपालिकाले ‘पाइलट प्रोजेक्ट’का रूपमा फोहरबाट ग्यास उत्पादन गर्न लागेको हो । जसमा युरोपेली सङ्घको ८० र महानगरपालिकाको २० प्रतिशत लगानी रहने छ । यसका लागि करिब दुई करोड लागत लाग्ने बताइएको छ ।टेकुको ‘ट्रान्सपोर्ट एक्सन स्टेसन’मा दुई डाइजेस्ट प्लान्ट राखिने छ । सो प्लान्टमा दिनहुँ तीन टन फोहरबाट २५० एमक्यु (करिब ९६ किलो) ग्यास, २०० किलो मल र एक हजार ५०० लिटरदेखि तीन हजार लिटरसम्म पानी उत्पादन हुने छ । 

करिब ९६ किलो ग्यासबाट कम्तीमा १४ किलोवाट बिजुली उत्पादन गर्न सकिन्छ ।उत्पादन भएको ग्यास सिलिन्डरमा भर्न समस्या हुने भएकाले बिजुली निकाल्न लागिएको हो । यस कार्यको जिम्मा राज एन्ड रिवाज सप्लायर्स प्रालि, नेप्लिज वेस्ट र सिवान जेभीले पाएका छन् । कम्पनीले रु एक करोड ८२ लाखमा ठेक्का सम्झौता गरेको बताइएको छ । 

हाल वैकल्पिक ऊर्जाका रूपमा भारत, चीन, जापानलगायत विकसित देशले यसको प्रयोग गर्दै आएका छन् । उपत्यकामा एक दिनमा ५०० टन फोहर उत्पादन हुने गरेको महानगरपालिकाका वातावरण प्रशासन महाशाखा प्रमुख गङ्गाधर गौतमले जानकारी दिए ।