काठमाण्डौ । बजार सोमबार पनि घटेको छ । यो दिन नेप्से परिसूचक ४.८२ अंकले घटेर ११७९.७१ विन्दूमा सीमित हुन पुगेको हो । 

सेयर बजारमा लाग्ने कर, हकप्रद तथा बोनसमा लाग्ने लाभकर लगायतको बिषयको अन्यौल अझै हटेको छैन । बजार घटेर न्यून विन्दूमा झरेपछि लगानीकर्तामा बैंकहरुको मार्जिन कल आतंक छ । यस्तै, लगानीकर्ताहरुको औधी प्रतिक्षा गरिरहेको मौद्रिक नीति समेत समयमै आउन नसक्दा बजार निरन्तर घटिरहेको हो । 

यिनै अन्यौलताका कारण कुनै बेला दैनिक २ अर्ब नजिकको कारोबार हुने बजारमा अहिले २० करोडको आसपासमा मात्रै सेयर किनबेच भइरहेको छ भने नेप्से परिसूचक पनि घट्ने क्रम रोकिएको छैन । 

यो दिन होटल समूहको सूचक २.२३ अंकले बढ्यो भने विकास बैंक समूहमा ३.७५ अंकको बढोत्तरी भयो भने अरु सबै समूहको सूचकमा गिरावट देखियो । 

बैंकिङ समूह ५.३४ अंकले घट्यो भने बिमा समूह २१.४४, माइक्रोफाइनान्स समूह ५.२४, जलविद्युत समूह १३.५९ अंकले घटे । यस्तै, बित्त समूह ३.०४ अंकले घट्यो भने उत्पादनमूलक ०.१३ र अन्य समूह १.२१ अंकले घट्यो । 

यो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबारमा संकुचन आउँदा सेन्सेटिभ इण्डेक्स १.०९ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.४३ अंकको गिरावट देखियो ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५९ कम्पनीका ६ लाख ७२ हजार १ सय ३ कित्ता सेयर २० करोड ४५ लाख ७२ हजार ६ सय ६२ रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा बढी ग्लोबल आइएमई बैंकले १ करोड ७५ लाख बढीको कारोबार गर्यो । यस्तै, ज्योति विकास बैंकले १ करोड ५ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड १ लाख, नेशनल लाइफ इन्स्योरेन्सले ८४ लाख, एभरेष्ट बैंकले ८३ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ७६ लाख, प्रभू बैंकले ५६ लाख बढीको कारोबार गरे । नवील बैंकको ५३ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा नेपाल बैंकले ५२ लाख र बैंक अफ काठमाण्डूले ४२ लाख बढीको कारोबार गरे ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन उन्नति माइक्रोफाइनान्सका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ६.०१ प्रतिशतले बढ्यो । यस्तै, गुराँस लाइफ इन्स्योेरेन्सको सेयर मूल्य समेत ६ प्रतिशतको हाराहारीमा बढ्यो ।

यो दिन रैराङ हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ७.३० प्रतिशतले घट्यो । कर्णाली डेभलपमेन्ट बैंकको मूल्य समेत ५ प्रतिशत भन्दा बढीले घट्न पुग्यो ।