काठमाण्डौ । विश्लेषण र प्रक्षेपणको नाममा बजार प्रभावित पार्ने र आफ्नो स्वार्थ अनुकुलको विश्लेषण मात्र सार्वजनिक गरी लगानीकर्तालाई दिग्भ्रमित पार्ने सेयर बजारका स्वघोषित विज्ञहरुप्रति नियामक धितोपत्र बोर्ड कडा रुपमा प्रस्तुत हुने भएको छ । 

अध्यक्षको रुपमा हालैबाट कार्यभार सम्हालेका भीष्मराज ढुंगानाले स्वघोषित विज्ञहरुमाथि प्रतिबन्ध लगाउने गरी तयारी थाल्न मातहतका कर्मचारीलाई निर्देशन दिएका हुन् । 

बोर्डले यस्ता स्वघोषित(कतैबाट पनि सर्टिफाइ नभएका)विज्ञहरुलाई कडा कारबाही गर्ने र नियमनको नीति दायरामा ल्याउने तयारी थालेको हो । 

बिजशालाले अघिल्लो साता बिनाप्रमाणित विश्लेषकहरुले दोस्रो बजार प्रभावित गरिरहेको भन्ने समाचारमा ध्यानाकर्षण भएको उल्लेख गर्दै अब बोर्डको स्वीकृति बिना दोश्रो बजारका विषयमा लेख्न र बोल्न नपाइने व्यवस्था कार्यान्वयनको तयारीमा बोर्ड जुटेको हो ।

यस्तो अभियानको थालनी गर्न लागेको बोर्डले पहिलो सूचिमै कारबाही र नियमनको मोस्ट वान्टेडको सूचिमा प्राविधिक विश्लेषक बिष्णुप्रसाद बस्याल र लेखक रविन्द्र भट्टराईको नाम राखेको स्रोतले बताएको छ । 

बोर्डस्थित उच्च स्रोतले भन्यो–‘स्वघोषित विज्ञ भन्ने सेयर प्राविधिक विश्लेषक बिष्णुप्रसाद बस्याल र रविन्द्र भट्टराईले दोश्रो बजारमा सेयरमूल्य प्रभावित हुने गरी विभिन्न संचारमाध्यमबाट जथाभावी धारणा सार्वजनिक गरिरहेका छन्, यो गलत हो । यसले प्राकृतिक तथा अनुशासित  रुपमा चल्नुपर्ने सेयर बजार र नेप्से परिसूचक नै प्रभावित भइरहेको हाम्रो आशंका छ । यसकारण बोर्डको अनुमतिबिना अब बजार प्रभावित हुने कुनै पनि सामाग्री, लेख वा विश्लेषण प्रकाशन र प्रसारण गर्न नपाइने नियम बनाइनेछ । स्वघोषित विश्लेषकहरुले बजारमा खेल्ने दिन गए ।’

हाल धितोपत्रको दोश्रो बजारमा स्वघोषित टीए वा विश्लेषकहरुकै कारण सेयर बजारमा निकै ठूलो उत्तारचढावसमेत देखिन थालेको बोर्डका अधिकारीहरुको विश्लेषण छ । 

बजारमा सक्रिय केही टीए ठूला सेयर खेलाडी र गिरोहमा आवद्ध भई बजार आफूअनुकुल बनाउने अभ्यासमा रहेका बोर्ड स्रोतको दाबी छ । यसले सोझा लगानीकर्ताहरु फस्न सक्ने भएकाले बोर्डले नियमनको दायरामा ल्याउनुपर्ने आवश्यकता भएको बोर्डको प्रष्टोक्ति छ । 

एकाध टीएले ५० औं करोडको विभिन्न व्यक्तिको पोर्टफोलियो नै जिम्मा लिएर गोप्य रुपमा पोर्टफोलियो व्यवस्थापन गरिरहेका समेत अध्ययनको क्रममा पाइएको स्रोतको दाबी छ।

बोर्डले भोलिका दिनमा सर्टिफाई विश्लेषक वा विज्ञ हुनका लागि समेत आफ्नो पोर्टफोलियो समेत सार्वजनिक गर्नुपर्ने अनिवार्य व्यवस्था गर्नसक्ने बोर्डका एक अधिकारीले बताए ।