काठमाण्डौ । साताको पहिलो दिनदेखि सुरु भएको बजारको दोहोरो अंकको वृद्धिमा बुधबार ब्रेक लागेको छ । दोहोरा अंकले बढिरहेको बजारमा ब्रेक लागि वृद्धि दर एक अंकमा सीमित बनेको हो । 

बुधबार नेप्से परिसूचक ९.३७ अंकले वृद्धि भई १७९७.४५ अंकको उचाईमा पुगेको हो । जलविद्युत र होटल बाहेक अन्य सबै समूहको सूचक हराभरा भए । 

सबैभन्दा राम्रो वृद्धि उत्पादनमूलकको सूचकमा देखियो । यो समूहको सूचक २.०८ प्रतिशत(अंकमा ५३.०६)ले वृद्धि भएको हो । वाणिज्य बैंक र विकास बैंकमा क्रमशः ९.३८ र १७.२१ अंकको बढोत्तरी भयो । फाइनान्स समूहमा ०.८५ अंकको झिनो वृद्धि देखियो । बिमा समूह १२६.१४ अंकले बढ्दा अन्य समूह ४.३४ अंकले उक्लियो । 

बुधबार सेन्सेटिभ र फ्लोट इण्डेक्स क्रमशः  २.४८ र ०.५८ अंकले बढ्यो । 

सोमबार र मंगलबारको तुलनामा कारोबार रकम भने कम भएको छ । कुल १४६ कम्पनीका १७ लाख ५८ हजार ४ सय ८८ कित्ता सेयर १ अर्ब २५ करोड २३ लाखमा किनबेच भयो । 

बुधबार सबैभन्दा बढी लुम्बिनी जनरल इन्स्योरेन्सको ८ करोड ५० लाख बराबरको सेयर किनबेच भयो । नेपाल बंगलादेश बैंकले ७ करोड ९५ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ७ करोड ४३ लाख, शिखर इन्स्योरेन्सले ६ करोड ५९ लाख, एनएमबी बैंकले ६ करोड ४९ लाख बराबरको कारोबार गरे । यसैगरी, माछापुच्छे बैंकले ४ करोड ८५ लाख, एनएलजी इन्स्योरेन्सले ४ करोड १४ लाख, सिद्धार्थ डेभलपमेन्ट बैंकले ३ करोड ९६ लाख, सिद्धार्थ बैंकले ३ करोड ७४ लाख र सानिमा बैंकले ३ करोड ७० लाख बराबरको कारोबार गरे  । 

धेरै कमाउने र गुमाउने
बुधबार तीनवटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि हासिल भयो । हाम्रो विकास बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको सेयर मूल्यमा १० प्रतिशतको हाराहारीमा बढोत्तरी देखियो । सिद्धार्थ डेभलपमेन्ट बैंक लिमीटेडको सेयर मूल्य पनि करिब ९ प्रतिशतले बढ्यो । 

अपी पावर कम्पनी, एनआइबिएल समृद्धि फण्ड १ का लगानीकर्ताले १० प्रतिशतको हाराहारीमा सम्पत्ति गुमाउनुपर्यो । वरुण हाइड्रोपावर र अरुण भ्याली हाइड्रोपावरको सेयर मूल्यमा क्रमशः ८.४१ र ५.८३ प्रतिशतको गिरावट आयो ।