काठमाण्डौ । बजारको अवस्था झनै दयनीय बनेको छ । नेप्से इण्डेक्सतर्फ मात्र निरन्तर भइरहेको गिरावटको रोग अब कारोबार रकमतर्फ पनि सर्न थालेको छ । 

बजारमा नेप्से इण्डेक्ससँगै कारोबार रकम पनि समानान्तर ढंगले घट्दै जान थालेको छ । यो बजारको भविष्यको लागि राम्रो संकेत होइन । यो प्रवृति जारी रहे बजार अझै चौपट हुनसक्ने जानकारहरु दाबी गर्छन् । 

पछिल्लो समय सरकारले लिएका बजार सम्बन्धी नीति तथा सुधारका प्रयासप्रति लगानीकर्ता विश्वस्त छैनन् । अर्थमन्त्री डा. युवराज खतिवडाले भाषणमा सेयर बजारप्रति विश्वास जगाएर मात्र आर्थिक समृद्धिको यात्रा सहज हुने दाबी गरिरहेका भए पनि उनकै पहलमा गठन भएको उच्चस्तरीय बजार सुधार कार्यदलले दिएका ५८ बुँदामध्ये धेरै बुँदा कार्यान्वयन भएका छन् । 

बजार सुधारका लागि भएका प्रयास रद्धीको टोकरीमा फालिएको छ भने बैंक तथा वित्तीय संस्थाहरुलाई समेत थिलथिलो बनाउने खालका सर्कुलर आउँदा यसले सेयर बजारमा उल्टो प्रभाव पारेको छ । 

नेपालको सेयर बजार बैंक तथा वित्तीय संस्थाहरुको बोलवाला छ । तर, यिनै कम्पनीहरुको आम्दानी र नाफामै गम्भीर असर पर्ने गरी राष्ट्रबैंकले हचुवाको भरमा केही नीतिगत व्यवस्था गरेको छ, यसले समेत बैंक तथा वित्तीय संस्थामा गरिएको लगानी डूब्ने वा सोचेजस्तो नाफा नहुने भन्दै लगानीकर्ताले सेयर बिक्री गरिरहेका छन् । 

अर्कोतर्फ, बैंकहरुको ब्याजदर घट्न सकेको छैन । एकातिर ब्याज घटेको छैन भने अर्कोतर्फ निरन्तर घट्दो बजारमा लगानीकर्ताहरुलाई मार्जिन कलले सताएको छ । धमाधम बैंकहरुले मार्जिन कल गर्न थालेपछि घाटै खाएर समेत सेयर बेची ऋण तिर्नतर्फ लगानीकर्र्ता केन्द्रीत देखिएका छन् । 

ब्याजदरलाई घटाउने सवालमा खासै खरो उत्रिन नसकेको नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत चुक्तापूँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नैपर्ने बाध्यकारी अवस्था सिर्जना गरिदिएको छ । यसले समेत बजारमा भएको लगानी ऋणपत्रमा गएर थुप्रिएको छ । ऋणपत्रमा आउने निश्चित रिटर्नको लोभमा कतिपय लगानीकर्ताले दोश्रो बजार समेत छाडेर आफ्नो लगानी त्यतातर्फ केन्द्रीत गरेका छन् । 

अर्कोतर्फ, ठूला तथा संस्थागत लगानीकर्ता अझै पनि सरकारको नीतिप्रति विश्वस्त हुन सकेका छैनन् । ठूला लगानीकर्ता नताती सेयर बजारमा चमक आउन मुश्किल छ । तर, तिनै लगानीकर्ताको विश्वास जित्न समेत सरकारले सकेको छैन । अविश्वासको भूमरीमा परेको बजार यहीकारण दिनहुँजसो कमजोर बन्दै गएको छ । 

कमजोर बजारका कारण लगानीकर्ताको मनोबल समेत कमजोर बनेको छ । उनीहरु समेत सेयर बजारमा लगानी गर्दा डूबिने रहेछ भन्ने कुरा मात्र सोच्न थालेका छन् । 

कतिपय विश्लेषक तथा जानकारहरुले निरन्तर लगानीकर्ताहरुलाई यो समय खरिदारीको उचित समय भएको सुझाव दिइरहेका छन् । कतिपय बलिया कम्पनीको सेयर समेत कौडीको भाउमा पाइराखिएको अहिलेको अवस्था लगानीका लागि स्वर्णिम अवसर भएको बताइरहँदा समेत लगानीकर्ताहरु न थप लगानी गर्ने मूडमा देखिन्छन्, न त नयाँ लगानीकर्ता नै बजार प्रवेश गरिरहेका छन् । चौतर्फी निराशाको भूमरीका कारण बजार दिनहुँ गम्भीर ढंगले घट्न थालेको छ । 

बजारको यो गिरावट मंगलबार पनि जारी रहेको छ । 

यो दिन नेप्से परिसूचक २.२४ अंकले घटेर ११६६.६७ को विन्दूमा सीमित बन्न पुगेको छ । 

यो दिन बैंकिंग समूह १.७५ अंकले घटेको छ भने ट्रेडिङ समूह ०.०८ अंक, जलविद्युत समूह ८.०२ अंक, बित्त समूह ३.०१ अंक, उत्पादन तथा प्रशोधन समूह १६.६६ अंक, माइक्रोफाइनान्स समूह ४.१२ अंक, जीवन बिमा समूह २६.२१ अंक र अन्य समूह १.७८ अंकले घटेका छन् । 

यो दिन होटल समूह २८.८७ अंकले बढेको छ भने विकास बैंक समूह २.०६ अंक, निर्जीवन बिमा समूह २२.८२ अंक र म्युचुअल फण्ड समूह ०.०९ अंकले बढेका छन् । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७२ कम्पनीका ९ लाख ९२ हजार १२२ कित्ता सेयर २३ करोड ७९ लाख ५९ हजार ६६३ रुपैयाँमा किनबेच भएका छन् । 
सबैभन्दा बढी कुमारी बैंकले १ करोड २५ लाख बढीको कारोबार गरेको छ । 

यस्तै, एनआइसी एशिया बैंकले १ करोड २३ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ८ लाख, कृषि विकास बैंकले ९० लाख, नेपाल बैंकले ८६ लाख, रसुवागढी जलविद्युत कम्पनीले ७४ लाख, प्रभू बैंकले ६१ लााख, नवील बैंकले ५८ लाख, बैंक अफ काठमाण्डूले पनि ५८ लाख र सिभिल बैंकले ५४ लाख बढीको कारोबार गरेका छन् । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन हिमालय उर्जा विकास कम्पनीका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ६.७२ प्रतिशतले बढ्यो । माउण्टेन हाइड्रोका लगानीकर्ताले ६ प्रतिशतले सम्पत्ति बढाए । 

यो दिन सेन्ट्रल फाइनान्सका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य करिब साढे ४ प्रतिशतको हाराहारीले घट्यो ।