काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले कोरोना महामारीको प्रभावका बीचमा समेत आर्थिक क्रियाकलाप चलायमान बनाउन धितोपत्र बजारले महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। उनले पछिल्लो समय धितोपत्र बजारमा भएको प्रविधिको विकाससँगै प्राथमिक र दोस्रो बजारमा लगानीकर्ताको पहुँच विस्तार भई बजार गतिशिल भएको पनि उल्लेख गरे। 

बोर्डको कार्यालयमा आज विभिन्न लगानीकर्ता संघसंघठनका प्रमुखहरुसँग भएको छलफलमा अध्यक्ष ढुंगानाले दोस्रो बजार कारोवार सहज भएको तथा विगत लामो समयदेखि अन्यौल रहेको पुँजीगत लाभकरको विषय स्पष्ट भएसँगै लगानीकर्ताको मनोबल बढेको बताए। ‘बजारको स्थायित्वका लागि संस्थागत लगानीकर्ताको बलियो उपस्थिति हुनुपर्छ र यसका लागि बोर्डले उपयुक्त कानुनी व्यवस्था गरेपश्चात् संस्थागत लगानीकर्ताको प्रबेश भइरहेको छ’, उनले भने, ‘सामाजिक सुरक्षा कोष तथा अन्य कोषलाई धितोपत्र बजारमा प्रवेश गर्न आवश्यक सहजीकरण भइरहेको, गैर आवासीय नेपालीको धितोपत्र बजार प्रवेशसम्बन्धमा बोर्डले बाह्य विज्ञमार्फत् अध्ययन गराइरहेको र निकट भविष्यमा नै सोसम्बन्धी प्रतिवेदन पेस हुनेछ।’

अध्यक्ष ढुंगानाले सूचीकृत संगठित संस्थाको विवरण प्रवाह थप पारदर्शी बनाउने, लगानीकर्ताको पहुँच विस्तार गर्ने, अन्य नियामक निकायसँग समन्वय गर्ने, लगानीकर्ता संरक्षण कोषको प्रभावकारी संचालन गर्न नेपाल सरकार, अर्थ मन्त्रालय र कम्पनी रजिस्ट्रारको कार्यालयसँग समेत समन्वय गरी आवश्यक कार्य अगाडि बढाउनेलगायतका कार्य भइरहेको बताए। 

छलफलमा लगानीकर्ता संघसंगठनका प्रमुखहरुले वर्तमान धितोपत्र बजारको अवस्थाको समीक्षा गर्दै पछिल्लो समयको प्रगतिमा सन्तोष व्यक्त गरेका थिए। साना लगानीकर्ताको हित हुने गरी नीति तर्जुमा गर्न बोर्डलाई सुझाव दिँदै उनीहरुले अनलाइन प्रणालीको सुधार, सर्वसाधारणको लगानी आकर्षण गर्न आवश्यक पूर्वाधारको व्यवस्था, ब्रोकरको पहँुच विस्तार तथा लगानीकर्ता साक्षरतालगायतका विषयमा बोर्डले थप प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए। 

छलफलमा उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमका सभापति अम्बिकाप्रसाद पौडेल, नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार, नेपाल पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल, नेपाल पुँजी बजार संघका अध्यक्ष राधा पोखरेल, लगानीकर्ता दबाब समूहका संयोजक हरि ढकालको उपस्थिति थियो।