काठमाण्डौ । सेयर बजार आज पुनः पुरानो अलटाइम हाईबाट तल झरेको छ । पुरानो अलटाइम हाई १८८१ बाट पनि तल झरेर बजार परिसूचक आज १८६६.६८ को विन्दूमा पुगेको हो । 

यो दिन बजार ५.२० अंकले घटेर बन्द भएको छ । 

नेप्से परिसूचक निरन्तर घटेसँगै कारोबार रकम पनि निरन्तर १ अर्ब तल आउन थालेको छ । यो साताको पहिलो कारोबार दिनदेखि नै टर्नओभर १ अर्ब तल झरेको थियो । यो क्रमले मंगलबार पनि निरन्तरता पायो । यो दिन बजारमा ९१ करोड ७६ लाख बराबरको मात्र सेयर किनबेच भयो । 

विज्ञहरुले बजारमा महङ्गोमा सेयर किनेर सस्तोमा बिक्री गर्ने ‘लुजर’हरु सकिएका कारण कारोबार निरन्तर १ अर्बमुनि सीमित बनेको दाबी गरेका छन् ।

बजार जानकार सूर्यनारायण पौडेलले यो साताको तीनैवटा कारोबार दिन कारोबार रकम १ अर्बमुनि रहनुलाई महङ्गोमा किनेर सस्तोमा बिक्री गर्ने लुजर सकिएको रुपमा बुझ्नुपर्ने दाबी गरे । 

उनले अर्थमन्त्री सेयरबजारको भविष्यप्रति चिन्तित रहेको आफूले पाएको उल्लेख गर्दै यति हुँदाहुँदै पनि बजार बढ्न नसक्नु पछाडि चैत मसान्तको ब्याज, किस्ता र करको दवाब पनि कारण हुनसक्ने बताए । ‘बजार एउटा गुड न्यूजको प्रतिक्षामा छ ।’ उनले भने–‘दीर्घकालका लागि सस्तोमा सेयर किनेर राख्ने उपयुक्त समय यही हो ।’ 

पौडेलले बैशाखबाट बैंकको ब्याजदर पनि घट्ने आशा गरिएको उल्लेख गर्दै त्यसपछि बजार सम्हालिएर अगाडि बढ्नसक्ने प्रक्षेपण समेत गरे । 

अर्का बजार जानकार मुक्ति अर्याल पनि बजार घट्नु पछाडिको प्रमुख कारण चैत मसान्तको दवाब मान्छन् । 

उनले नयाँ सरकार र नवनियुक्त अर्थमन्त्री सेयर बजारप्रति निकै सकारात्मक रहेका आफूले पाएको उल्लेख गर्दै सकारात्मक अवस्था चाँडै आउनसक्ने दाबी गरे । ‘नयाँ सरकार र अर्थमन्त्री सकारात्मक छन् । उहाँलाई जसरी पनि अर्थतन्त्र र सेयरबजारमा सुधार गर्नुछ । मैले आफूले अर्थमन्त्री ज्यूसँग भेट्दा पनि सेयर बजारका बारेमा धेरै सल्लाह र सुझाव दिएको छु ।’ उनले भने–‘अब बजारविरोधी नीतिहरु यथासम्भव चाँडो परिवर्तन गर्नुपर्छ । अर्थमन्त्रीले राष्ट्रबैंकका गभर्नरलाई पनि साथमा लिएर अगाडि बढ्नुपर्छ । केही सकारात्मक आशा गर्ने ठाउँ बजारमा रहेको छ । अत्तालिनुहुन्न ।’

के–के भयो बजारमा ?
यो दिन नेप्सेका ४ उपसमूहको सूचक घटेको छ भने ६ वटा उपसमूहको सूचकमा सामान्य सुधार भएको छ । 

बैंकिङ समूह ५.८१ अंकले घटेको यो दिन इन्भेष्टमेन्ट समूहमा ०.०२ अंक, जीवन बीमा समूहमा ८०.७० अंक तथा उत्पादन र प्रशोधन समूहमा ०.७२ अंकको झिनो गिरावट देखिएको छ । 

विकास बैंक समूहमा १०.७८ अंकको बढोत्तरी भएको यो दिन फाइनान्स समूहमा २.७० अंक, होटल तथा पर्यटन समूह ३.१८ अंक, जलविद्युत समूह ४.४० अंक, माइक्रोफाइनान्स समूह ७.६४ अंक तथा म्युचुअल फण्ड समूह ०.०३ प्रतिशतले बढेका छन् । 
 

धेरै कारोबार गर्ने कम्पनी

यो दिन बजारमा शिवम सिमेन्टले सबैभन्दा धेरै ३ करोड ३६ लाख बढीको कारोबार गर्यो । 

यस्तै, एनआइसी एशिया बैंकको ३ करोड २८ लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २ करोड ८६ लाख, हिमालयन बैंकको २ करोड ५५ लाख, हिमालयन डिस्टीलरीको २ करोड ४८ लाख, नवील बैंकको २ करोड ४४ लाख, अपी पावर कम्पनीको २ करोड ३३ लाख बढीको सेयर किनबेच भयो । 

कुमारी बैंकको २ करोड २७ लाख बढीको संस्थापक सेयरको कारोबार भएको यो दिन सोही बैंकको १ करोड ७१ लाख बढीको साधारण सेयरको समेत किनबेच भयो । यो दिन नेको इन्स्योरेन्सले १ करोड ५५ लाख बढीको कारोबार गर्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
बजारमा झिनो अंकको गिरावट भएको यो दिन कालिञ्चोक दर्शन लिमीटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । 

सानिमा ग्रोथ फण्डका इकाईधनीको सम्पत्ति ९ प्रतिशत हाराहारीमा बढेको यो दिन ग्लोबल आइएमई लघुवित्तको सेयरमूल्य ८ प्रतिशत हाराहारी तथा ङादी हाइड्रोपावरको मूल्य ७ प्रतिशत हाराहारीले बढ्न पुग्यो । 

यो दिन ८.५ प्रतिशत प्रभू बैंक डिवेञ्चरको इकाई मूल्य सबैभन्दा धेरै ९.२९ प्रतिशतले घट्यो । 

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताले पनि यो दिन ८ प्रतिशतभन्दा बढीको दरले सम्पत्ति गुमाए ।