काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार खरीद चाप उच्च रही तीव्र गतिको गिरावटका कारण सर्किट ब्रेकर नै लगाउनु परेको बजारमा सोमबार यूटर्न भएको छ । 

५८.४६ अंकको विशाल पहिरो भोगेको बजारको विषयमा अन्यौल र अझ घट्ने त्रास रहेकै बेला सोमबार यूटर्न भई ६.६७ अंकले वृद्धि भएको हो । 

ठूलो अंकले घटेर आइतबार १६ सय तल झरेको बजार सोमबार पुनः १६०६.२९ अंकको उचाईमा पुुगेको हो । 
सोमबार पाँचवटा समूहको सूचक हराभरा भएको छ भने बाँकी समूहमा रातो पोतिएको छ । सबैभन्दा बढी अन्य समूह २०.२५ अंकले बढेको छ । यस्तै, वाणिज्य बैंक समूूह ७.६४ अंक, होटल समूह २२.४१, बित्त समूह १२.१७ र व्यापार समूह १.१२ अंकले बढेका छन् । 

बिमा समूह सोमबार पनि घटेको छ । तर गिरावट सामान्य रह्यो यो समूह १०.७३ अंकले घट्यो । विकास बैंक समूह १३.६४ र जलविद्युत समूह ०.६५ अंकले घटे । 

धेरै कारोबार गर्ने कम्पनी
सोमबार कारोबार रकम भने घटेको छ । कुल १२७ कम्पनीका १३ लाख ८६ हजार ८ सय ९५ कित्ता सेयर ९२ करोड ८७ लाखमा किनबेच भयो । 

वाणिज्य बैंक समूूहले सबैभन्दा बढी ४५ करोड ९३ लाखको कारोबार गर्यो । यस्तै, बिमा समूहले २६ करोड ५३ लाख तथा विकास बैंक समूहले ११ करोड ३७ लाख बराबरको सेयर कारोबार गरे । 

कम्पनीमध्ये सबैभन्दा बढी एभरेष्ट बैंकले कारोबार गर्यो । यो बैंकको मात्रै १२ करोड ८० लाख बराबरको सेयर किनबेच भयो । नेशनल लाइफले ५ करोड ४७ लाखको कारोबार गर्यो भने बैंक अफ काठमाण्डू लुम्बिनी लिमीटेडले ४ करोड ४० लाख, प्रूडेन्सियल इन्स्योरेन्सले ३ करोड ९१ लाख, सिद्धार्थ बैंकले ३ करोड ४७ को कारोबार गरे । यस्तै, २ करोड ८६ लाखको नवील बैंकको प्रोमोटर सेयर पनि मंगलबार किनबेच भयो । यस्तै नेपाल लाइफको २ करोड ६९ लाख, शिखर इन्स्योरेन्सको २ करोड ६१ लाखको सेयर किनबेच भयो ।

धेरै कमाउने र गुमाउने कम्पनी
सोमबार सबैभन्दा बढी सिर्जना फाइनान्स बित्तीय संस्थाका लगानीकर्ताले कमाए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । यस्तै, अल्पाइन डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ५.६० प्रतिशतले वृद्धि भयो । 
सोमबार सबैभन्दा बढी लक्ष्मी लघुवित्त बित्तीय संस्था लिमीटेडका सेयरधनीले गुमाए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घट्यो । यस्तै, राष्ट्रिय विमा संस्थान लिमीटेडको सेयर मूल्य पनि ७.७४ प्रतिशतले घट्यो ।