काठमाण्डौ । नेपाली बजारको मागलाई धान्नसक्ने ग्यास आपूर्ति हुने आश्वासन दिंदै थप सिलिण्डर घरमा नराख्न भनेको नेपाल आयल निगमले अन्ततः नाकाबन्दीमा झै आधा सिलिण्डर ग्यास बिक्री गर्ने निर्णय गरेको छ । 

बजारको माग धान्न नसकेको र जति नै प्रयास गर्दा पनि अवस्था सहज नभएको दाबी गर्दै निगमले आधा भरिएका ग्यास मात्र बजारमा पठाउन भन्दै बोटलिंग प्लान्टहरुलाई निर्देशन दिने बुधबार निर्णय गरेको हो । 

निगमको निर्देशनअनुसार अब ग्यास उद्योगहरुले ७.१ किलो ग्यास गरिएका सिलिण्डर बिक्रीमा ल्याउनुपर्नेछ । पूरा भरिएको सिलिण्डमा १४.२ किलो ग्यास हुन्छ । उपभोक्ताले आधा भरिएको सिलिण्डरका लागि ६८७ रुपैयाँ ५० पैसा तिर्नुपर्ने हुन्छ । 

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बजारमा ग्यासको अत्यधिक माग भएपछि त्यसलाई सम्बोधन गर्न आधा भरिएका सिलिण्डर बजारमा पठाउने निर्णय गरिएको दाबी गरेका छन् । उनले जति नै प्रयास गर्दा पनि पूरा भरिएका सिलिण्डरले माग धान्न नसकेपछि निगम यस्तो निर्णयमा पुगेको दाबी समेत गरे ।

निगमको तथ्यांकअनुसार मंगलबार र बुधबार मात्रै ४४ सय टन ग्यास नेपाल भित्रिएको छ । तर, यसले समेत बजारको माग धान्न सकेन । कारण, सर्वसाधारणले भविष्य अभावको अवस्था हुनसक्ने आँकलन गर्दै जथाभावी सिलिण्डर किनेर मौज्दात राख्ने काम गरे । 

तर, ग्यास बिक्रेताहरुले भने आधा भरिएका सिलिण्डर बजारमा ल्याउँदा समेत सिलिण्डर थुपार्ने प्रवृति बढ्ने र यसले बजारको अभाव हट्न नसक्ने दाबी गर्न थालेका छन् । 

ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार निगमले गरेको यो निर्णयको विषयमा छलफल गर्न उद्योगीहरुलाई दिउँसो बोलाइएको छ । निगमसँगको बैठकपछि शुक्रबारदेखि आधा भरिएका ग्यास सिलिण्डर बजारमा पठाइने उनले जानकारी दिए । 

एलपी ग्याँस उद्योग संघका पूर्व अध्यक्ष शिवप्रसाद घिमिरेले आयल निगमले सबै उद्योगहरुलाई मेल गर्दै आधा भरिएका सिलिण्डर मात्रै बजारमा पठाउन निर्देशन दिएको जानकारी दिए ।