काठमाण्डौ । साताको पहिलो कारोबार दिन समेत बजारमा पहिरो जाने क्रम रोकिएन । यो दिन नेप्से परिसूचक २५.४३ अंकले घटेर १२३१.६४ को विन्दूमा समेटिन पुग्यो । 

सेयर बजारमा करको त्रासलाई समयमै चिर्न नसक्दा लगानीकर्ताको मनोबल माथि उठ्न नसकेको देखिएको हो । हकप्रद र बोनस सेयरको आधार मूल्यमै लाभकर लाग्ने आन्तरिक राजश्वको परिपत्र स्थगन मात्र भई अर्थमन्त्रालयले त्यसको अध्ययन गरिरहेकोले त्यसपछिको निश्कर्षको पर्खाईमा लगानीकर्ता रहेको देखिन्छ । कतिपय चाहि असार पहिलो सातासम्म सार्वजनकि हुने मौद्रिक नीतिले ब्याजदरमा स्थिरता ल्याउने, तरलता सहज बन्ने उपायहरुको खोजी हुने भन्दै त्यसको प्रतिक्षामा समेत देखिएका छन् । समग्रमा बजारमा कर तथा ब्याजदरको त्रासले लगानीकर्ता दिनप्रतिदिन हतोत्साही बनिरहेका छन् । यहीकारण समेत बजार तत्काल माथि उठ्न नसक्ने भन्दै लगानीकर्ताहरुले धमाधम सेयर बेचिरहेका छन् । जसको नकारात्मक प्रभावले बजारमा दैनिकजसो दोहोरो अंकले उच्च गिरावट भइरहेको छ । 

बजारमा दोहोरो अंकको गिरावट आए पनि कारोबार रकम भने पछिल्लो समय औसत नै छ । यो दिन पनि ४४ करोड ४३ लाख भन्दा बढीको कारोबार भयो । यसबाट बजारलाई कारोबारले साथ छाडिहालेको अवस्था नरहेको बुझ्न सकिन्छ । 

यो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ५.३ अंकले घटेको छ । समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.९ अंकको गिरावट देखिएको छ । 

यो दिन बिमा, माइक्रोफाइनान्स र होटल समूहमा भीषण पहिरो गएको छ । बिमा समूहको सूचक २१७.२४ अंकले घटेको छ । यो भनेको ३.३७ प्रतिशतको गिरावट हो । यस्तै, माइक्रोफाइनान्स समूह ४३.९६ अंक(२.६३ प्रतिशत) र होटल समूह ५४.४६(२.९२ प्रतिशत) अंकले घटेका छन् । 

बैंकिङ समूहमा १९.२८, विकास बैंक समूहमा २२.२४, जलविद्युत समूहमा २७.२७, उत्पादनमूलकमा २७.०१, अन्य समूहमा ९.१३ र बित्त समूहमा ५.४७ अंकको पहिरो गएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६२ कम्पनीका ११ लाख ७६ हजार ३४ कित्ता सेयर ४४ करोड ४३ लाख ९२ हजार ८ सय १३ रुपैयाँमा किनबेच भएको छ । 

सबैभन्दा बढी मेगा बैंक लिमीटेडले ४ करोड २० लाख बढीको कारोबार भएको छ । यो बैंकका लगानीकर्ताले आइतबार समेत करिब २ प्रतिशतको हाराहारीमा सम्पत्ति गुमाएका छन् । 

एभरेष्ट बैंकले १ करोड ८३ लाख, नेपाल टेलिकमले १ करोड ८० लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ६८ लाख, सिभिल बैंकले १ करोड ६६ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड ६० लाख, साना किसान विकास बैंकले १ करोड ३३ लाख, प्रिमियर इन्स्योरेन्सले १ करोड ५ लाख, एनएमबी बैंकले १ करोड ४ लाख र सानिमा बैंकले ९६ लाखको हाराहारीमा कारोबार गरेका छन् । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन उन्नति माइक्रोफाइनान्सका लगानीकर्ता मालामाल भए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । यस्तै, सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले समेत ८ प्रतिशतको हाराहारीमा सम्पत्ति बढाए ।

यो दिन मिर्मिरो माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ८.०३ प्रतिशतले घट्यो । यस्तै, प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य पनि ७.३१ प्रतिशतले घट्यो ।