काठमाण्डौ । लगातार दुई दिनसम्म कारोबार रकम ५० करोड माथि पुगेसँगै बजारले सकारात्मक दिशा समात्ने आशा गर्न थालिएको छ । 

बजार परिसूचकसँगै कारोबार रकम समेत ५० करोड माथि पुग्नुले ‘पर्ख र हेर’को रणनीतिमा रहेका लगानीकर्ता समेत यसबेला सेयर बजारमा प्रवेश गरेको देखाउँछ । 

विश्लेषकहरुले बजारमा कारोबार रकम बढ्दो क्रममा देखिएकोले संस्थागत लगानीकर्ता पनि चलमलाउन थालेका दाबी गरेका छन् । 

बजारमा पछिल्लो समय भएका केही सुधार, तेश्रो त्रैमासिक रिपोर्टका आधारमा कम्पनीहरुले वितरण गर्नसक्ने लाभांशको आँकलन गर्न सकिने अवस्था र बैंक ब्याजदर १ प्रतिशतसम्म घट्ने चर्चा बजारमा भाइरल भएकाले समेत बजार बढ्न थालेको जानकारको दाबी छ । 

विश्लेषकहरुले नेप्से परिसूचक १२०० विन्दू माथि पार गर्यो भने एकपटक बजारमा बुल प्रवृति सुरु हुने दाबी गर्दै आएका छन् । 

विगत केही दिनदेखि बैंकिङ इण्डेक्स लगातार बढिरहेको छ । लगानीकर्ताहरुले वाणिज्य बैंकको सेययर धमाधम उठाइरहेका छन् । बैंकिङ इण्डेक्सले लङटर्म बढोत्तरीको बटम लगाइसकेको संकेत गरिरहेको प्राविधिक विश्लेषकहरुको तर्क छ ।

बजारमा नेप्से इण्डेक्स र कारोबार रकम समानान्तर ढंगले बढ्दै जानु निकै सकारात्मक अवस्था हो । यो प्रवृति केही दिनदेखि बजारमा देखा परेको र यो केही दिन निरन्तर रहे बजार बुल गतिमा कुद्नसक्ने आँकलन विज्ञहरुले गरिरहेका छन् । 

बजार विश्लेषकहरुले अहिलेको समयलाई बजारबाट सेयर उठाउने उपयुक्त समय भएको उल्लेख गर्दै त्यसतर्फ लाग्न लगानीकर्ताहरुलाई आग्रह समेत गरेका छन् । 

तर, यस्तो बेलामा समेत सर्टटर्म कारोबारी भने बजारका लागि चुनौति बनेर देखा पर्ने गर्छन् ।  मंगलबार दोहोरो अंकले बढेको बजार बुधबार पनि केही समयसम्म दोहोरो अंककै वृद्धिमा गएको थियो । तर, सर्टटर्म कारोबारी हाबी भएका कारण बजार बन्दा हुँदा चाहि न्यून बढोत्तरीमै सीमित हुन पुगेको विश्लेषक दाबी गर्छन । सर्टटर्म कारोबारी हाबी हुँदा समेत बजार नघट्न्ु र थोरै अंक भए पनि बढ्नुले राम्रो भविष्यको आशा गर्न सकिने विश्लेषकहरु बताउँछन् ।

प्राविधिक विश्लेषक विष्णु बस्यालको भनाईमा नेप्से इण्डेक्स १२८८ र १२३३ को ट्रेडलाइनको रेजिस्टेन्स हेर्दा ११८५ तिरको देखिएको छ । ११८५ मा आएर बजारले सिग्नेफिकेन्ट रेसिस्टेन्स लिन्छ कि भन्ने देखिन्छ । र, टेक्निकल्ली विश्लेषण गर्दा जबसम्म त्यो ट्रेण्डलाइन रेजिस्टेन्सलाई क्रस गरेर माथि क्लोज गर्दैन, तबसम्म बजारमा रिस्क छ भन्ने देखिन्छ ।

‘त्यसपछि मार्केट तल आउँदा भोल्युम तल हुँदै आयो भने हामीलाई बजारमा प्रवेश गर्ने फेरि मौका दिन्छ भन्ने आशा गर्न सकिन्छ ।’ उनले भनेका छन् ।

बुधबार के-के भयो बजारमा ?
बुधबार नेप्से परिसूचक २.०१ अंकले बढेर ११६५.८४ को विन्दूमा फर्किएको छ । 

निकै अस्थिर बनेको बजार परिसूचक सुरुवाती घण्टामा दोहोरो अंकले बढिसकेको थियो । तर, बन्द हुँदा पनि एकल अंकको बढोत्तरीमै सीमित बन्न पुगेको हो । 

यो दिन बैंकिङ समूह ४.५३ अंकले बढ्यो भने विकास बैंक समूहमा ६.११ अंकको बढोत्तरी देखियो । 

बाँकी सबै उपसमूहको सूचकमा रातो पोतियो । यो दिन जीवन बिमा, निर्जीवन बिमा, माइक्रोफाइनान्स समूहमा क्रमशः ३.८३,  ६.६१ र २.३९ अंकको झिनो गिरावट आयो । 

होटल समूह १५.८१ अंकले घटेको यो दिन जलविद्युत समूहमा ३.९६ अंक, बित्त समूह २.०३ अंक, उत्पादनमूलकमा ५.१२ अंक र अन्य समूहमा ०.९२ अंकको गिरावट देखियो ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७० कम्पनीका २० लाख २९ हजार १५ कित्ता सेयर ५४ करोड ५८ लाख १८ हजार ६१९ रुपैयाँमा किनबेच भएको छ । 

सबैभन्दा बढी एनआइसी एशिया बैंकले ४ करोड ३७ लाख बढीको कारोबार गर्यो । एनसीसी बैंकले ४ करोड १६ लाख बढीको कारोबार गरेको यो दिन नेपाल बैंकले २ करोड ९४ लाख, एनएमबी बैंकले २ करोड १४ लाख, प्राइम कमर्सियल बैंकले १ करोड ९७ लाख, सिभिल बैंकले १ करोड ९० लाख, एनबी बैंकले १ करोड ८३ लाख, प्रभू बैंकले १ करोड ७९ लाख, माछापुच्छ्रे बैंकले १ करोड ५८ लाख र सिद्धार्थ बैंकले १ करोड ५३ लाख बढीको कारोबार गरेका छन् । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन नेपाल इन्स्योरेन्स कम्पनी लिमीटेडका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयरमूल्य ४.६४ प्रतिशतले बढ्यो ।

अन्य दिन झै यो दिन पनि युनिभर्सल पावरका लगानीकर्ताले धेरै गुमाए । कम्पनीको सेयर मूल्यमा यो दिन पनि नेगेटिभ सर्किट लाग्यो ।