काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बजारमा सामान्य गिरावट आएको छ । 

यो दिन नेप्से परिसूचक १.५६ अंकले घटेको छ भने कारोबार रकम २७ करोड ६९ लाखमा सीमित बन्न पुगेको छ । 

व्यक्तिगत ओभरडाफ्ट कर्जाको सीमा ७५ लाखबाट ५० लाख कायम गर्नुपर्ने दवाबमा रहेका ठूला लगानीकर्ताले सेयर बिक्री बढाउँदा बजार घटेको हो । 

यस्तै, दोश्रो त्रैमासको ब्याज भुक्तानी तथा करको दवाबले समेत बजारमा निरन्तर गिरावट आइरहेको हो । 

बजार सुधारका लागि सम्बद्ध निकाय तातेर लगानीकर्ताको मनोबल बलियो भएको भनिएकै समयमा बजारमा निरन्तर गिरावट देखिएको हो । 

लगानीकर्ता अझै पनि अनलाइन कारोबार प्रणालीको बिषयमा विश्वस्त हुन सकेका छैनन् । धितोपत्र बोर्ड र नेप्सेले गर्नुपर्ने नीतिगत सुधारका बिषयको परिणाम नै पर्खिएर बस्ने कतिपय लगानीकर्ताका कारण समेत बजारमा बिक्री चाप बढेको देखिएको छ । 

यो दिन बैंकिंग समूह ४.३६ अंकले घटेको छ भने विकास बैंक समूहमा ६.१८ अंक र जलविद्युत समूहमा ६.३७ अंकको गिरावट देखिएको छ । 

होटल समूहमा १८.२५ अंकको वृद्धि भएको छ भने जीवन बिमा समूहमा ६८.०५ अंक, निर्जीवन बिमा समूहमा १५.०२, माइक्रोफाइनान्स समूहमा १.२२, बित्त समूहमा ०.३८ र अन्य समूह ०.३ अंकको बढोत्तरी भएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५८ कम्पनीका ७ लाख ९७ हजार ६ सय १३ कित्ता सेयर २७ करोड ६९ लाख ५६ हजार ३ सय १ रुपैयाँमा किनबेच भएको छ।

 

यो दिन नेपाल बैंक लिमीटेडले सबैभन्दा बढी २ करोड ६१ लाख बढीको कारोबार गरेको छ । 

नेपाल टेलिकमले १ करोड ६६ लाख र नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ३७ लाख बढीको कारोबार गरे । नेपाल लाइफकै १ करोड २६ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा एनसीसी बैंकले १ करोड १३ लाख, नेशनल लाइफ इन्स्योरेन्सले ८४ लाख, नवील बैंकले पनि ८४ लाख, अपी पावरले ८३ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ७४ लाख र सिद्धार्थ इन्स्योरेन्सले ७२ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन यूनाइटेड मोदी हाइड्रोका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयरमूल्य ५ प्रतिशतले बढ्यो । यस्तै, सिन्धु विकास बैंकको सेयर मूल्य पनि ५ प्रतिशतको हाराहारीमा बढ्यो ।

कालिका लघुवित्तको मूल्य ७ प्रतिशतको हाराहारीमा घट्यो ।