काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार समेत नेप्से परिसूचक घटेको छ । यो दिन परिसूचक ७.२२ अंकले घटेको छ भने ३१ करोड बढीको सेयर कारोबार भएको छ । 

बजार परिसूचक घटे पनि गत साताको अन्तिम कारोबार दिनको तुलनामा कारोबार रकममा भने केही सुधार देखिएको हो । 

तर, अधिकांश सूचिकृत कम्पनीहरुले लाभांश घोषणा गरिसकेकाले बजारमा यतिबेला अफसिजन सुरु भएको मानिएको छ । पुस र माघ महिना सेयर बजारका लागि मन्दीको महिना हुने विश्लेषकहरु बताउँछन् । अफसिजनका कारण समेत बजार घटिरहेको बताइएको छ । 

यस्तै, पुस मसान्तभित्र बैंक तथा बित्तीय संस्थाबाट पहिलाको व्यवस्था अनुसार ७५ लाख व्यक्तिगत ओभरडाफ्ट कर्जा लिएकाहरुले सीमा घटेसँगै ५० लाखमा सो ऋण झार्नुपर्ने बाध्यताले समेत बजारमा बिक्री चाप बढेको बताइएको छ । 

अर्कोतर्फ, बजारका लागि कोशेढुंगा हुने ठानिएको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीप्रति समेत लगानीकर्ताको विश्वास टुटिरहेको छ ।

अनलाइन ट्रेडिङमा लिमिट राख्नुपर्ने झञ्झटिलो व्यवस्थाले समेत लगानीकर्ताहरुमा अलमलको अवस्था हुँदा आत्मबल केही कमजोर बनेको हो । 

दोश्रो त्रैमासको ब्याज तथा कर भुक्तानीका लागि लगानीकर्तामा परेको दवाबको कारण त छँदैछ । 

यी विविध कारणले घटिरहेको बजारमा आइतबार अन्य समूहको सूचक मात्र ९.५४ अंकले बढ्यो, बाँकी सबै समूहको सूचकमा रातो पोतियो ।

बैंकिंग समूह ६.८६ अंकले घटेको यो दिन विकास बैंक समूह १४.३३ अंक, जलविद्युत समूह १४.५५, होटल समूह ७.८, निर्जीवन बिमा समूह ७९.०८, जीवन बिमा समूह ४३.७५, माइक्रोफाइनान्स समूह २२.८४, उत्पादनमूलक २२.१३ र बित्त समूह १.६५ अंकले घटे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन एनसीसी बैंकले सबैभन्दा बढी कारोबार गर्यो । यो बैंकको ३ करोड  ३२ लाख बढीको सेयर कारोबार भयो ।

सात वर्षपछिको लाभांश घोषणाले प्रभू बैंकको पनि धेरै कारोबार भयो । यो बैंकको २ करोड ५२ लाख बढीको सेयर कारोबार भयो ।

यसअघि घोषित बम्पर लाभांश केन्द्रीय बैंकबाट स्वीकृत नभएपछि छिमेक लघुवित्तको सेयरमा बिक्री चाप देखियो, यहीकारण यो कम्पनीले २ करोड १६ लाख बढीको कारोबार गर्यो । 

नागरिक लगानी कोषले १ करोड ८० लाख, नेपाल टेलिकमले १ करोड २२ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड १० लाख, प्राइम कमर्सियल बैंकले ७४ लाख, नेपाल बैंकले ६६ लाख, बैंक अफ काठमाण्डूले ६५ लाख र नवील बैंकले ६१ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन नागरिक लगानीकोषका सेयरधनीले धेरै कमाए । यो कम्पनीको सेयरमूल्य ७.०५ प्रतिशतले वृद्धि भयो ।

गुमाउनेमा भार्गव विकास बैंक र छिमेक लघुवित्त वित्तीय संस्था अगाडि देखिए । 

भार्गवले आफ्ना सेयरधनीलाई ६ प्रतिशत नगद लाभांश दिने निर्णय आइतबार सार्वजनिक गरेको थियो । लगानीकर्ताले लाभांशको यो दर मन पराएनन् र सेयर बिक्री बढाउँदा मूल्यमा ७.५८ प्रतिशतको गिरावट आयो । 

यस्तै, छिमेक लघुवित्त विकास बैंकले लगानीकर्तामाथि धोका हुने गरी पूर्वघोषित ४० प्रतिशत लाभांश नै रद्ध गरिदिएपछि निराश र आक्रोशित लगानीकर्ताले यो कम्पनीको सेयर बिक्रीमा जोड दिएका देखिए । जसका कारण छिमेक लघुवित्तको सेयर मूल्य ६ प्रतिशतको हाराहारीमा घट्यो ।