काठमाण्डौ । सूचिकृत कम्पनीहरुको दोश्रो त्रैमासको प्रगति उत्साहप्रद नै देखिए पनि त्यसको प्रभाव बजारमा खासै परेको छैन । 

कम्पनीहरुको प्रगति विवरणबाट प्रभावित नभएका लगानीकर्ता अनलाइन कारोबार प्रणालीको अन्यौलपूर्ण र भद्रगोल अवस्था तथा प्यानकोको प्रभावले अझै उत्साहित हुन सकेका छैनन् । फलस्वरुप, यो साताको पहिलो कारोबार दिन आइतबार समेत नेप्से परिसूचक ८.५७ अंकले घटेको छ । 

यो दिन सेन्सेटिभ इण्डेक्स १.७२ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.५४ अंकको गिरावट देखिएको छ । 

व्यापार समूहमा २.८७ अंकको बढोत्तरी भए पनि बाँकी सबै समूहको सूचक घटेका छन् । 

यो दिन बैंकिंग समूह ५.६४ अंकले घट्यो भने होटल समूहमा १७.२५ अंक, विकास बैंक समूहमा ८.७१ अंक, जलविद्युत समूहमा १८ अंक, बित्त समूहमा १.०२ अंक, जीवन बिमा समूहमा ३६.३१ अंक, उत्पादनमूलक समूहमा १८.५३ अंक, अन्य समूहमा १२.३८ अंक, माइक्रोफाइनान्स समूहमा २.८ अंक र निर्जीवन बिमा समूहमा ३७.५३ अंकको गिरावट देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६९ कम्पनीका १५ लाख २७ हजार ७ सय ६ कित्ता सेयर ४१ करोड ५७ लाख ७३ हजार ६ सय ३ रुपैयाँमा कारोबार भयो । 

सबैभन्दा बढी माछापुच्छे बैंकको ५ करोड ९३ लाख बढीको संस्थापक सेयर किनबेच भयो । 

यो दिन नेपाल टेलिकमले ३ करोड ५५ लाख बढीको कारोबार गर्यो भने अपर तामाकोशीले २ करोड ५० लाख बढीको कारोबार गर्यो । 

नवील बैंकको २ करोड ४६ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा छिमेक लघुवित्तले १ करोड ४७ लाख, नेपाल बैंकले १ करोड ३९ लाख, एनएमबी बैंकले १ करोड ३४ लाख, नागरिक लगानीकोषले १ करोड २७ लाख, इन्भेष्टमेन्ट बैंकले १ करोड १३ लाख र प्रभू बैंकले ९२ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन विजय लघुवित्तका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयरमूल्य ४ प्रतिशतको हाराहारीमा बढ्यो ।

सानिमा इक्वीटी फण्डका इकाईधनीले धेरै गुमाए । यो स्किमको मूल्य ४ प्रतिशतको हाराहारीमा घट्यो ।